विराटनगर(मोरड.), २ चैत । नेपालमा भैरहेको साफ महिला च्याम्पियनसिप फुटबलमा शनिवार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३- ० ले पराजित गरेको छ ।
यो जितसंगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उपविजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । ६ टीम सम्मिलित खेलमा समूह ‘ए’ बाट भुटान बाहिरिएको छ ।
त्यस्तै बिहीबारको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् । अब आइतबार हुने भारत र श्रीलंकाबीचको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको टुँगो लाग्नेछ । समूह ‘बी’ बाट लगातार दुई खेलमा पराजित माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
साफ महिला च्याम्पियनसीपको सेमिफाइनलका दुवै खेल बुधबार हुनेछन भने फाइनल खेल शुक्रबारको लागि निर्धारित गरिएको छ ।
आजको खेलमा नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ३-० को सहज जित निकालेको हो ।
नेपालले खेलको छैटौं मिनेटमा बंगलादेशले गरेको स्युसाइडल गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरेकी थिइन ।
खेलको २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन् ।
पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल पहिलो हाफमा नै ३-० गोलको अग्रतामा रह्यो ।
नेपालले दोस्रो हाफमा भने पहिलो हाफको उत्साह दोहोर्याउन सकेन । पहिलो हाफमा मिडफिल्ड निकै उत्कृष्ट देखिएको थियो तर, दोस्रो हाफमा सुस्तायो भने फरवार्ड लाइनका खेलाडी पनि चल्न सकेनन् ।
खेलको ५८औं मिनेटमा सावित्राले प्रहार गरेको बल बंगलादेशकी मसुरा पर्भिनले बचाइन् । किपर रुप्ना चक्मा विट भइसकेको अवस्थाबाट पर्भिनले गोल लाइनबाट बल क्लियर गरेकी थिइन् ।
६४औं मिनेटमा पर्भिन नै फेरि बाधक बनिन् । सावित्राले प्रहार गरेको बल डिबक्सभित्रबाट पर्भिनले नै क्लियर गरेकी थिइन् ।
बंगलादेशले दोस्रो हाफमा राम्रो खेलेको थियो तर कुनै पनि प्रहारलाई गोलमा परिणत गर्न सकेन ।


















