काठमाडौं, २० चैत्र । नेपालभरका प्रतिरक्षी कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको शनिवार भएको निर्वाचनको हालसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।
प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले दिनुभएको जानकारी अनुसार अहिले उपत्यका बाहिरको मतगणना सकिएको छ ।
उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा अध्यक्षमा प्रजातान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले १ हजार ७ सय ८७ र प्रगतिशील समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १ हजार ५ सय ६१ मत ल्याउनुभएको छ ।
अहिलेसम्म पोखरेलले २ सय २६ मतले श्रेष्ठलाई पछाडि पार्नुभएको छ ।
८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले प्रगतिशीलका उम्मेदवारलाई पछाडि पारेका छन् । महिलामा कविता थापा कार्की, प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशीले प्रगतिशील समूहका उम्मेदवारलाई उछिन्नुभएको छ ।
महासचिवमा पनि प्रजातान्त्रिक समूहका लीलामणि पौडेल प्रगतिशील समूहका सुरेन्द्र थापामगरले भन्दा ३ सय मतले अगाडि हुनुहुन्छ । पौडेलले १ हजार ७ सय ९५ र थापामगरले १ हजार ४ सय ९५ मत ल्याउनुभएको छ ।
कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तेजबहादुर रावलको १ हजार ६ सय ९४ र प्रगतिशील समूहका रुद्रप्रसाद पोखरेलले १ हजार ५ सय ७० मत छ ।
अन्य पदहरुमा पनि प्रजातान्त्रिक समूहको अग्रता छ । नेपाल बार एशोसिएसनको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत १६ गते देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार अब उपत्यकाको ३ हजार ८ सय ७४ मत गन्न बाँकी छ ।
जसमध्ये १ हजार २ सय ८९ मत आज गणना हुँदैछ भने २ हजार ५ सय ८५ मत बिहीबार गणना हुँदैछ ।