बालाकोट(कश्मीर,पाकिस्तान),२८ चैत्र(बीबीसी) । पाकिस्तानी अधिकारीहरूले विदेशी सञ्चारमाध्यम र रक्षा सहचारीहरूलाई भारतले गत फेब्रुअरीमा विवादित हवाई आक्रमण गरेको घटनास्थल देखाएको छ।
उनीहरूलाई बालाकोटस्थित एउटा इस्लामिक विद्यालयमा जान दिइएको थियो, जहाँ भारतीय सञ्चारमाध्यमहरूका अनुसार कश्मीर आक्रमणको प्रतिक्रियास्वरूप भारतले गरेको कारबाहीमा लडाकुहरू मारिएका थिए।
उक्त विद्यालयको भवन सकुशल देखिएको थियो।
पाकिस्तानी सेनाले आतङ्कवादी शिविरका रूपमा त्यसको प्रयोग गरिएको दाबी अस्वीकार गरेको छ।
भारतीय आमनिर्वाचनको पूर्वसन्ध्यामा उक्त विद्यालयको अवलोकन गराइएको हो।
बालाकोट घटनास्थललाई लिएर पाकिस्तान र भारत ‘सूचनायुद्ध’ को अवस्थामा छन्।
पाकिस्तानले फेब्रुअरी २६ मा भारतीय बम खुला स्थानमा खसाइएको र त्यसबाट कसैलाई केही नभएको बताउँदै आएको छ।
तर भारतले आक्रमणबाट जैश-ए-मोहम्मद समूहका लडाकु ठूलो सङ्ख्यामा मारिएका र उनीहरूको शिविर ध्वस्त भएको बताउने गरेको छ।
सो घटनाको दुई हप्ताअघि भारत-प्रशासित कश्मीरमा ४० जना अर्धसैनिक जवानको ज्यान जानेगरी गराइएको हमलाको बदलास्वरूप आक्रमण गरेको भारतको भनाइ रहिआएको छ।
उक्त हमला कश्मीरमा भारतीय फौजमाथि गराइएको केही दशकयताकै ठूलो थियो र त्यसले भारत तथा पाकिस्तानबीच नयाँ युद्धको खतरा निम्त्याइदिएको थियो।
भारत र पाकिस्तान दुवै परमाणुशक्ति भएका राष्ट्र हुन्।
सञ्चारमाध्यमलाई बुधवार के देखाइयो?
विदेशी पत्रकार र कूटनीतिज्ञलाई पाकिस्तानी सेनाले बालाकोट र खैबर पख्तुन्ख्वा प्रान्तको भ्रमण गराएको थियो।
उनीहरूलाई मझौला आकारको एउटा खाल्डो देखाइएको थियो। पाकिस्तानी सेनाका अनुसार भारतीय वायुसेनाले खसाएको बमबाट त्यो खाल्डो बनेको थियो।
बीबीसीका उस्मान जाहिदका अनुसार विस्फोटका कारण एउटा घरमा सामान्य क्षति भएको थियो भने एक जना घाइते भएका थिए।
विदेशी पत्रकार र कूटनीतिज्ञले ढलेका केही रूख पनि देखे।
उनीहरूलाई तालिम उल कुरान मदरसा पनि लगिएको थियो। विदेशी सञ्चारमाध्यमले त्यस्तो भ्रमण गर्न पाएको त्यो पहिलो अवसर थियो।
सो भवनमा साढे दुई हजार बालबालिका अट्न सक्ने बताइन्छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल आसिफ गफूरले मदरसाले “कुनै हानि नपुर्याएको” र आतङ्कवादी प्रशिक्षण शिविर भएको भन्ने भारतीय दाबीमा “कुनै सत्यता नभएको” बताए।
करिब डेढ सयदेखि दुई सय बालबालिकाले सो विद्यालयको मदरसामा कुरानको पाठ गरिरहेको देखियो।
यद्यपि बीबीसीले अन्तर्वार्ता गरेका एक शिक्षक र विद्यार्थीले आफूहरू सबै स्थानीयवासी भएको र भारतीय आक्रमणपछि मदरसा बन्द रहेको बताए।
सञ्चारमाध्यमलाई अनुमति दिइएको भए पनि छोटो अन्तर्वार्ता गर्न भनिएको थियो र भ्रमणलाई सीमित पारिएको स्पष्ट थियो।
भारत के भन्छ?
बीबीसीले सम्पर्क गर्दा भारतीय विदेश मन्त्रालयले “फेब्रुअरी २६ को प्रतिआतङ्कवादी आक्रमणले लक्षित उद्देश्य हासिल गरेको” अडानमा दोहोर्यायो।
मन्त्रालयस्थित एक अधिकारीले बुधवार भने, “घटनाको डेढ महिनापछि सञ्चारमाध्यमलाई घटनास्थलको भ्रमण गराउनुले नै कुरा प्रस्ट हुन्छ।”
बालाकोटमा गरिएको हवाई आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ
फेब्रुअरीमा अल जजीराका पत्रकारहरू सो क्षेत्रको (मदरसाको चाहिँ होइन) भ्रमण गर्दा उनीहरूले जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरलाई विद्यालयले आफ्नो “नेता” मानेको सङ्केत देखेका थिए।
बालाकोट हवाई हमलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी अभियानमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
इन्डिया टुडेका अनुसार मोदीले मतदाताहरूलाई हवाई हमलामा संलग्न विमानचालकहरूको नाममा आफ्नो मत समर्पण गर्न भनेका छन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसै हप्ता बीबीसीसँगको अन्तर्वार्तामा कश्मीर मुद्दामा भारतसँगको शान्ति यस क्षेत्रकै लागि “महत्त्वपूर्ण” हुने बताएका थिए।
भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू यस्ता छन्
अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।
भारतका जवाहरलाल नेहरु(बायाँ), ब्रिटिश इन्डियाका भाइसरोय लर्ड लुई माउन्टब्याटेन (बीचमा) र अल इन्डिया मुस्लिम लीगका अध्यक्ष महुम्मद अलि जिन्नाह(दायाँ) सन् १९४७ मा विभाजनबारे कुरा गर्दै
अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।
डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।
सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।
फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।
मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।
मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।
अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।
१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।
फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।
२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।
जेनुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र छ विद्रोहीको मृत्यु।
१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।
३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।
१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।
२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।
१ मार्च २०१९: पाकिस्तानद्वारा भारतीय वायुसेनाको लडाकु विमानका चालक अभिनन्दन वर्धमान मुक्त।