काठमाडौं, २९ चैत्र । महालेखा परीक्षक टंकमणि शर्माले महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदन राष्टपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार अपरान्ह प्रस्तुत गर्नुभएको छ ।
अघिल्लो बर्ष महालेखाको प्रतिवेदनमा नेपाल वायुसेवा निगमले आफूलाई आवश्यक भनेर खरिद गरेको एअरबस कम्पनीका वाइडबडी ३३०को खरिद प्रक्रियामा ठूलो अनियमितता गरेको विषय उल्लेख गरेपछि यो विषय राष्ट्र्यि वहसको विषय बनेको थियो र संसदको सार्वजनिक लेखा समितिले यसमा गहन छानवीन गरी ४ अर्ब ३५ करोड ५६ लाखभन्दा बढी रुपैया भ्रष्टाचार भएको देखिएकोले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।
लेखा समितिको शिफारीस सहितको सुझाब पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले यो खरिद प्रकरणमा संलग्न पदाधिकारीहरुसंग बयान लिइरहेको छ ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार नै सार्वजनिक गरेको ५६ औं प्रतिवेदनको सार संक्षेपमा पनि बाइड बडी खरिदको विषयमा लामै उल्लेख गरिएको छ । विस्तृत प्रतिवेदनमा विस्तृत रुपमै सो विषय समेटिने अनुमान गरिएको छ । हेरौ, महालेखाले यस बर्ष के देख्यो जस्ताको तस्तै :
वाइड बडी विमान खरिद – महालेखापरीक्षकको पचपन्नौंँ वार्षिक प्रतिवेदनमा नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडबडी विमान खरिद गर्न अपनाएको प्रक्रिया कानुनसम्मत नभएको र खरिद मूल्य मितव्ययी भएको यकिन गर्न नसकिएको व्यहोरा उल्लेख गरिएकोमा त्यस विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा छलफल भई विमान खरिद सम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठित उपसमितिको प्रतिवेदन समितिको बैंठकबाट अनुमोदन गरी आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । यस वर्ष सोसम्बन्धी कारोबारको परीक्षण गर्दा देखिएका मुख्य व्यहोरा देहायबमोजिम छन्ः
६१.१. वाइडबडी विमान खरिदको लागि स्वीकृत प्रस्तावमा पहिलो विमान सेप्टेम्बर २०१७ र दोस्रो विमान मार्च २०१८ मा आपूर्ति गर्ने उल्लेख भएकोमा सम्झौतामा पहिलो विमान अप्रिल २०१८ र अर्को विमान मे २०१८ मा आपूर्ति गर्ने उल्लेख छ । पहिलो विमान २५ जून २०१८ तथा दोश्रो विमान २४ जुलाई २०१८ मा प्राप्त भएकाले स्वीकृत प्रस्तावभन्दा पहिलो र दोस्रो विमान क्रमशः करिब ९ महिना र ४ महिना ढिलो प्राप्त भएको देखिन्छ ।
६१.२ निगम सञ्चालक समितिले दुई वटा वाइड बडी विमान सञ्चालनको व्यावसायिक योजना २०७३।६।८ मा स्वीकृत गरेको छ । उक्त योजना अनुसार ती विमान सन् २०१९ बाट दमाम, सिउल, सिड्नी, टोकियो र हङकङ उडान हुनुपर्नेमा हालसम्म गन्तव्यको टुङ्गो लागेको छैन । गन्तव्य टुङ्गो लगाई लक्ष्यअनुरुप उडान गर्न नसक्दा २०७५ श्रावणदेखि पौषसम्म ६ महिनामा रु.१ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन गएको अवस्था छ ।
६१.३ निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट रु.२३ अर्ब ९९ करोड ६१ लाख ऋण लिएको छ । सो ऋणबाट निगमले जहाज खरिद कार्यमा रु.२२ अर्ब ९० करोड १७ लाख १६ हजार उपयोग गरेको देखिन्छ । व्यावसायिक योजनाअनुसार विमान सञ्चालन गर्न नसक्दा २०७५।९।३० भित्र तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ता रु.८० करोड ४२ लाख तिर्न नसकेको अवस्था छ । लामो दूरीमा विमान सञ्चालन गर्न नसकेमा नोक्सानी अझै वृद्धि हुने स्थिति छ ।
६१.४. विमान खरिदको लागि प्रस्ताव माग गर्दा विमानमा अधिकतम भारवहन क्षमता (एमटीओडब्लू), अधिकतम अवतरण क्षमता (एमएलडब्लू) र अधिकतम शून्य इन्धन क्षमता (एमजेडएफडब्लू) जस्ता क्षमतामा घटबढ हुँदा विमानको मूल्यमा पर्ने असरसमेत खुलाउन सबै प्रस्तावदातालाई आह्वान गरेको देखिन्छ । प्राप्त प्रस्तावमध्ये स्वीकृत भएको प्रस्तावमा अधिकतम भारवहन क्षमता वृद्धि गरे बापतको लागतसमेत विमानको मूल्यमा समावेश भएको व्यहोरा उल्लेख छ । प्रस्ताव र सम्झौतामा यी क्षमताहरु निम्नानुसार देखिएको छः
विवरण प्रस्ताव अनुसारको क्षमता सम्झौता अनुसारको क्षमता
एमटीओडब्लू २४२ टन २३० टन
एमएलडब्लू १८२ टन १८० टन
एमजेडएफडब्लू १६६ टन १८६ टन
बोलपत्रदाताले पेश गरेको प्रस्तावमा उल्लेख गरेको स्पेसिफिकेसन र प्राप्त भएका विमानको स्पेसिफिकेसनमा भएको फरकले विमानको क्षमता, दक्षता र मूल्यमा पर्ने असर र प्रभाव विश्लेषण गरेको देखिएन ।
६१.५.स्वीकृत प्रस्ताव, सम्झौता तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दर्ता प्रमाण पत्र लगायतका कागजातमा विमानको मोडेल नम्बर तथा इन्जिन र एअरक्राफ्ट क्रम नम्बर फरक फरक किसिमले उल्लेख गरेको छ । निगमबाट प्राप्त विवरण अनुसार मोडेल तर्फ ए ३३०–२०० को सट्टामा ए ३३०–२४३, इन्जिनतर्फ रोल्स रोएस टे«न्ट ७७बी को सट्टामा रोल्स रोएस टे«न्ट ७७बी–६०, एयरक्राफ्ट नम्बरतर्फ दुई विमानको एमएसएन नम्वर १८४० तथा १८४२, १८४५ तथा १८५४ र १८७२ तथा १८७८
उल्लेख गरेको देखिन्छ ।
६१.६. निगमको आर्थिक विनियमावली, २०६५ को विनियम ११४ (२) (ञ) मा निगमले स्वीकृत गर्ने बोलपत्र कागजातमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजातमा उल्लेख गर्नुपर्ने विषयहरु समावेश गर्ने व्यवस्थाअनुसार नै निगमले बोलपत्र कागजात स्वीकृत गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मालसामान खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा मालसामानको मूल्यमा १० प्रतिशतसम्म घटबढ हुंदा मूल्य समायोजन नगरिने व्यहोरा उल्लेख गरी बोलपत्र कागजात तयार गरेको छ ।
तर निगमले सम्झौतामा म्यानुफ्याक्चरिङ प्राइस् रिभिजन फर्मुलाअनुसार २.४४ प्रतिशत (प्रति विमान मूल्य अमेरिकी डलर १० करोड ९० लाखमा नबढ्ने गरी) मूल्य समायोजन दिने उल्लेख गरी २ विमानको लागि अमेरिकी डलर ६७ लाख ८८ हजार ११० को सटही दर रु.१०९।६६ ले हुने रु.७४ करोड ४३ लाख ८४ हजार मूल्य समायोजन भुक्तानी गरेको छ ।
६१.७. सम्झौताअनुसार दुई वटा विमानको रु.२३ अर्ब २० करोड ८३ लाख २ हजार भुक्तानी भएको देखिन्छ । बिल बीजकको निश्चित ढाँचाबेगर आपूर्तिकर्ताले खाली कागजमा अन्य व्यहोरा नखुलाई इन्भ्वाइस भनी रकम मात्र उल्लेख गरेको कागजलाई बिल वीजक मानी भुक्तानी गरेको छ । विमान निर्माता एअरबस कम्पनीले निगमलाई लेखेको पत्रको अन्तमा रकम प्राप्त भयो भन्ने वाक्यांश उल्लेख गरे तापनि प्राप्त गरेको रकम खुलाएको छैन ।
६२. भ्रमण खर्च – वाइडबडी विमानहरुको प्राविधिक अनुगमन र हस्तान्तरण कार्य गर्न कर्मचारी सञ्चय कोषका ३, नागरिक लगानी कोषका ५, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १, निगम सञ्चालक समिति सदस्यलगायत उच्च पदाधिकारी १५, कानुनी सल्लाहकार १, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी ४, निगमका र नेपाल राष्ट्र बैङ्कका पदाधिकारी १ समेत ३१ जनाले विदेश भ्रमण गरेका छन्। यी मध्ये निगमका महाप्रबन्धक ३ पटक, निगमका ४ अधिकृत ५ पटक र कानुनी सल्लाहकार २ पटक भ्रमण गरेको देखिन्छ । उक्त भ्रमणमा दैनिक भत्ता रु.७३ लाख ७४ हजार र हवाई टिकट खर्च रु.३८ लाख २० हजारसमेत रु.१ करोड ११ लाख ९४ हजार खर्च भएको छ । भ्रमणमा सहभागी अधिकांश कर्मचारी अप्राविधिक व्यक्ति रहेका छन् । भ्रमणको आवश्यकता सम्बन्धमा विश्लेषण नगरी खर्च गरेकोले प्राविधिक कर्मचारीका लागि भएको अत्यावश्यक खर्च यकिन गरी अन्य खर्च रकम असुल गर्नु गराउनुपर्दछ ।





















