Prakash Adhikari April 20, 2019

चियाड.माई(थाईल्याण्ड),७ बैशाख । थाईल्याण्डको चियाड.माईमा आज शनिवारदेखि सुरु भएको एसीसी अन्डर-१६ इष्टर्न प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको छ ।

नेपालको जित

टस जितेर पहिले ब्याटिंग गरेको म्यानमारले निर्धारित ३५ ओभरको खेलमा ५८ रनमा सम्पूर्ण विकेट गुमायो ।

५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर हासिल गर्यो ।

म्यानमारले दिएको ५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर दीपक बोहरा ६ रन तथा तेश्रो नम्बरका सुवास ऐर ११ रन बनाएर आउट भए। यस्तै कप्तान बिशाल बिक्रम केसी पनि ३ रन बनाएर आउट भए।

चौथो ओभरमा २५।३ पुगेको नेपालको योगफललाई चौथो विकेटको लागि प्रशान्त महत र अर्जुन कुमालले अविजित ३७ रनको साझेदारी गर्दै नेपाललाई विजयको माला पहिर्याए। अर्जुनले १५ बलमा ४ चौका मदतले २६ रन तथा प्रशान्तले १५ बलमा १ चौका मदतले अविजित ९ रन बनाए।

नेपाललाई रोक्ने क्रममा म्यानमारका बलर कुंग टेटले २ विकेट लिए।

नेपालको कसिलो बलिड.

आजको ओपनिड. खेलमा नेपालको बलिड. जम्यो । नेपाली बलरहरुले पहिलो ओभरदेखि म्यानमारको विकेट झारे । पहिलो ओभरमै कप्तान बिशालबिक्रम केसीले २ विकेट लिए।

२ ओभरमा १५।३ पुगेको म्यानमारको योगफललाई पाँचौ नम्बरमा ब्याटिंग गरेका कंग टेट क्याउले १९ रन बनाउदै सम्हाले । ओपनर क्रिस्टोफरले १ चौका र १ छक्का मदतले ११ रन बनाए पनि रमेश कुर्मीले उनको विकेट लिए।

१७ बलमा ३ चौका मदतले १९ रन बनाएका क्याउ पछि अन्य कुनै पनि म्यानमार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

फलस्वरूप म्यानमारले १३.२ ओभरमा ५८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रतियोगिताको २०१७ को संस्करणमा पनि नेपाल र म्यानमार प्रतिस्पर्धा गरेका थिए। त्यस बेला म्यानमार ३ सय ३७ रनले पराजित भएको थियो। त्यस बेला पहिले ब्याटिंग गरेको नेपालले ३५ ओभरमा ३ सय ५० रनको योगफल तयार गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा १३ रनमा सबै विकेट गुमाउन पुगेको थियो। खेलमा रित गौतमले १ सय ६ रन बनाएका थिए ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको नेपालले अब दोश्रो खेल २४ अप्रिलमा मलेसियासंग तथा तेश्रो खेल अप्रिल २५ मा थाईल्याण्डसंग खेल्नेछ। नेपालको समूहमा मलेसिया, थाईल्याण्ड र म्यानमार रहेका छन्। समूह चरणमा एकअर्का बिरुद्ध १ । १ खेल खेलेपछि उत्कृष्ट दुई टीमहरु सेमिफाइनल प्रवेश गर्ने छन्।

अप्रिल २८ सम्म चियाड.माई थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित थाईल्याण्ड, मलेसिया, म्यानमार, सिंगापुर, हंगकंग , चीन र भुटान सहभागी छन्।

प्रतियोगितामा सहभागी ८ टिमलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा आयोजक थाईल्याण्ड, मलेसिया र म्यानमार रहेका छन्। समूह ‘बी’ मा सिंगापुर, हंगकंग , चीन र भुटान रहेका छन्।

Share Now

Leave a comment.