Prakash Adhikari April 21, 2019

 

काठमाडौं, ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी मित्र राष्ट्र चीनका राष्ट्रपति सि जिनपिड.को मैत्रीपूर्ण निमन्त्रणामा बुधवार उत्तरी छिमकी चीनको राजकीय भ्रमणमा जानुहुने भएको छ ।

चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण हुन लागेको हो।

राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधि मण्डल वैशाख ११ गते बुधवार चीन प्रस्थान गर्नेछ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सम्मेलनमा सहभागी हुनुका साथै सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपति सि जिङपिङले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ। त्यस्तै चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी इन्टरनेसनल हर्टिकल्चरल एक्जिबिसनको उद्घाटन समारोहमासमेत सहभागी हुने कार्यक्रम छ। प्रदर्शनीमा नेपालले आफ्नो प्रदर्शनी कक्ष समेत राख्ने छ।

त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सिसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले समझदारी पत्रको बारेमा खुलाएको छैन।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिइने छ। त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ उच्च नेतृत्वसँगसमेत भेट गर्ने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा २७ अप्रिलमा बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समुदायलाई सम्बोधन गर्ने छन्। त्यस्तै राष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ तथा नेपाली व्यापारिक समुदायहरुको संयुक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

बेइजिङ जाने क्रममा राष्ट्रपति भण्डारीले चीनको सान्छी प्रान्तको राजधानी सियानको भ्रमण गर्नुहुनेछ ।
उहाँ नेपाल फर्कने क्रममा चीन स्वशासित तिब्बतको राजधानी ल्हासाकोसमेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। त्यहाँ रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागि हुने छन्। राष्ट्रपति भण्डारी वैशाख १९ गते बिहीवार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

चीनले आयोजना गर्न लागेको दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन ३७ देशका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने छन्।

शुक्रवार बेइजिङस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा गर्नुभएको हो।

सम्मेलनले बेल्ट एण्ड रोड फ्रेमवर्कभित्र उच्च गुणस्तरको साझेदारी ल्याउने लक्ष्य छ। सम्मेलनका दौरानमा प्रयोगात्मक साझेदारीका लागि १२ वटा छुट्टाछुट्टै कार्यक्रमहरुसमेत आयोजना गरिने छ। त्यस्तै सम्मेलनमा व्यवसायिक समुदायको प्रतिनिधित्व हुने एउटा सम्मेलनसमेत आयोजना हुने छ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सिले कि नोट स्पिच दिने कार्यक्रम छ । सम्मेलनमा नेपाल, अष्ट्रेलिया, इजिप्ट, इटली, पाकिस्तान, काजाकस्तान, ब्रुनई फिलिपिन्स र लाओससहितका ३७ देशका सरकार तथा राष्ट्रप्रमुखले सहभागिता जनाउनेछन् ।

त्यस्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरेस र अन्तरार्ष्ट्रिय मुद्रा कोषका प्रमुखसहित फ्रान्स, जर्मनी, युके, स्पेन, जापान, कोरिया, इयुलगायतका सय बढी देशमा उच्चस्तरीय प्रतिनिधिहरु सहभागी हुने छन्।सम्मेलनमा विभिन्न ९० अन्तरार्ष्ट्रिय संघसंगठनका प्रतिनिधिसहित ५ हजार बढीको सहभागिता सुनिश्चित भैसकेको छ।

सन २०१७ को मेमा बेइजिङमा पहिलो सम्मेलन भएको थियो। सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सीले दोस्रो सम्मेलन २०१९ मा गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार सम्मेलन हुन लागेको हो।

पहिलो सम्मेलनमा नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा सहभागी भएका थिए। बेइजिङमा सम्मेलनमा सहभागी हुन जानु अगाडि तत्कालिन अर्थमन्त्री महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालले बीआरआई फ्रेमवर्क सम्बन्धी एमओयुमा हस्ताक्षर गरेका थियो। एमओयुमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि तत्कालिन चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए।

चिनियाँ राष्ट्रपति सिले सन् २०१३ मा काजकस्थानको भ्रमणका क्रममा घोषणा गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई(मा हालसम्म १ सय २६ देश र २९ अन्तर्राष्ट्रिय संघ संस्थाले चीनसँग साझेदारीका लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौतासँगै चीन र सहभागी राष्ट्रबीचको व्यापार ६ ट्रिलियन डलर भन्दा बढी भएको छ। त्यस्तै ८० विलियन डलर भन्दा बढीको लगानी भइसकेको छ। बीआरआई अन्तर्गतका परियोजनाले ३ लाख बढी रोजगार सिर्जना गरेको छ।

Share Now

Leave a comment.