काठमाडौं,८ वैशाख । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई सपथ गराउनुभएको हो ।
सोही समारोहमा प्रधानन्यायाधीश राणाले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।
सो अवसरमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
यी पाँच जनाले सपथ लिएसँगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ ।