Prakash Adhikari January 2, 2018

खुमलटार(ललितपुर), १८ पौष । हालै सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनको लाभ लिएका माओवादी केन्द्रका नेताहरुले एकीकृत पार्टीको नेतृत्व वा प्रधानमन्त्री नपाएसम्म एकीकरण र सरकार गठनप्रििक्रया दुवै अगाडि नबढाउन अध्यक्ष प्रचण्डलाई दवाव दिएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार भएको बैठकका अधिकांश सहभागी बक्ताहरुले हतारो र उधारोमा पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई चेतावनी नै दिएका थिए ।

बैठकका सहभागीहरुले एकीकरणको नाममा कार्यकर्ता अपमानित, हिनताबोधले ग्रसित र पार्टी विसर्जित हुने अवस्था सिर्जना नगर्न प्रचण्डलाई चेतावनी दिएका थिए । बैठकपछि माओवादी नेता देबेन्द्र पौडेलले एमालेसँग सम्मानजनक एकीकरणको विषय प्रमुख रुपमा उठेको बीबीसी नेपाली सेवालाई बताएका छन्।

उनका अनुसार पार्टी एकताको क्रममा माओवादी अध्यक्षले कि त नयाँ पार्टीको अध्यक्ष नभए भावी सरकारको नेतृत्व पाउनु पर्नेमा माओवादी केन्द्रका नेताहरु ‘एकमत’ छन्।

पौडेलले भने, ‘दुई पार्टीका अध्यक्षमध्ये एकजनाले पार्टीको नेतृत्व र एकजनाले सरकारको नेतृत्व गर्नु भयो भने हालका लागि उच्च नेतृत्वको व्यवस्थापन संगठनात्मक रुपमा सही हुन्छ। त्यसो गरिएमा अगाडि बढ्न सकिन्छ भन्नेमा सबैजना एकमत हुनुहुन्छ।’

माओवादी केन्द्रका नेताहरुको भनाइको ठीक विपरीत, नेकपा एमालेका कतिपय नेताहरुले एकीकृत पार्टी र भावी सरकारको नेतृत्व एकै व्यक्तिले गर्नुपर्ने मत सार्वजनिक गर्दै आएका छन्।

दुई पार्टीका अध्यक्षमध्ये एकजनाले पार्टीको नेतृत्व र एकजनाले सरकारको नेतृत्व गर्नु भयो भने हालका लागि उच्च नेतृत्वको व्यवस्थापन संगठनात्मक रुपमा सही हुन्छ। त्यसो गरिएमा अगाडि बढ्न सकिन्छ भन्नेमा सबैजना एकमत हुनुहुन्छ
देवेन्द्र पौडेल, नेता, माओवादी केन्द्र

दुई ठूला वाम दलबीचको एकताको विषयले मंसिरमा सम्पन्न आम चुनावअघिदेखि नै प्रमुखता पाउँदै आएको थियो।

तर चुनाव सकिएको एक महिना बित्न लाग्दा समेत एकीकरणले मूर्तरुप लिन सकेको छैन।

सरकार गठनसँग एकताको खाका तयार गर्नु पर्ने यसअघिको माओवादी बैठकको निर्णय थियो।

शर्त
मंगलबारको बैठकपछि बाहिर आएको माओवादी मत एकताको अर्को शर्त जस्तो देखिन्छ।

तर जिम्मेवारी बाँडफाँटको विषयलाई सार्वजनिक बहसमा लैजाने पक्षमा आफ्नो दल नरहेको बताउँदै एमालेका एक सचिव प्रदीप ज्ञवालीले एकता संयोजन समितिको बैठकले नै त्यस विषयलाई टुंग्याउने बताए।

कतिपयले माओवादी केन्द्र र एमालेबीचको एकताको बाटोमा दुई दलका फरक विचार र सिद्धान्तको समायोजन जटिल हुनसक्ने देखेका छन्।

तर एकतापछिको सांगठनिक स्वरुपमा दुवै दलका नेताहरुलाई दिइने जिम्मेवारी सहितको शक्ति बाँडफाँट झनै पेचिलो मुद्दा बन्ने संकेत दुवै पक्षका सार्वजनिक अभिव्यक्तिले दिएको ठानिएको छ।

नेतृत्व बाँडफाँटको विषयमा भने सम्भवत बुधबार विहान बस्ने भनिएको एकता संयोजन समितिको बैठकमा छलफल हुने बताइएको छ।

Share Now

Leave a comment.