Prakash Adhikari May 21, 2019

काठमाडौं, ७ जेठ । सरकारले व्यापारी अजय सुमार्गीलाई उनले छलेको कर बापतको ४ अर्ब ३२ करोड रुपैया तिर्न ताकेता गरेको छ । नेकपाका संयुक्त अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्ड निकट रहेका व्यापारी सुमार्गीलाई उहाँले आफ्नो स्वामित्वमा रहेको नेपाल स्याटेलाइट नामक टेलि कम्पनीको शेयर एनसेलको तात्कालिन माउ कम्पनी टेलिया सोनेरालाई बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुभएको थिएन ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले आर्थिक वर्ष २०६८/०६९ मा साइप्रसको एयरवेल सर्भिसेसबाट नेपाल स्याटेलाइटको स्वामित्व टेलियासोनेरालाई बेच्दा भएको पुँजीगत लाभमा कर निर्धारण गरेको हो।

एयरवेलले टेलियासोनेरालाई ५ अर्ब ७१ करोड रुपैयाँमा नेपाल स्याटेलाइटको शेयर बेचेको थियो। यसमा ५ अर्ब ६३ करोड ५० लाख ५० लाख रुपैयाँ पुँजीगत लाभ भएकोले त्यसको २५ प्रतिशत कर निर्धारण भएको कार्यालयले जनाएको छ।

कर कार्यालयले यो कारोबारमा लाग्ने १ अर्ब ४० करोड रुपैयाँ कर तथा त्यसको दोब्बर जरिवाना र ब्याजसमेतर गरी वैशाख ३१ गते ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६८८ रुपैयाँ कर निर्धारणको पत्र जानकारी गराएको थियो।

कार्यालयले कर निर्धारण गरि वैशाख ३१ गते कम्पनीको नाममा पठाएको पत्र बुझ्न नमानेपछि पुन पत्र पठायो । जेठ २ गते पत्र बुझेको कम्पनीले कर कार्यालय र विभाग विरुद्ध मुद्दा दायर गरेको छ र अदालतबाट तत्काल प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश ल्याइसकेको छ।

महालेखा परिक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको थियो।

दुबै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व परिवर्तनमा कर छलिएको महालेखाले निश्कर्ष निकालेको हो।

महालेखाले २०७३ असोजमा आन्तरिक राजश्व कार्यालय क्षेत्र नंम्बर एकलाई पत्र लेख्दै ३५ दिन भित्र १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लाभकर उठाइ सक्न निर्देशन दिएको थियो।

२०६४ सालमा स्थापना भएको नेपाल स्याटलाइट टेलिकममा ५० प्रतिशत सेयर वेलायतस्थित द न्यु डिजिटेक इन्टरनेशनलको नाममा थियो। ४० प्रतिशत मुक्तिश्री टेलिकम, पाँच प्रतिशत सम्झना अर्याल, तीन प्रतिशत पाकिस्तान मोवाईल टेलिकम्युनिकेसन र दुई प्रतिशत बंगलादेशस्थित सेवा टेलिकमको नाममा कम्पनीको सेयर रहेको थियो।

२०६५ असोजमा साइप्रसस्थित एयरवेल सर्भिसेजले डिजिटेकको नाममा रहेको कम्पनीको सबै सेयर किन्यो। ५० हजार कित्ता सेयर पाँच करोड रुपैयाँमा किनबेच भयो ।

अर्कोतिर स्विडेनको कम्पनी टेलियासोनेरा एसिया होल्डिङले सन् २०११ मा एयरवेल सर्भिसेजको ५१ प्रतिशत सेयर किन्यो। मूल्य थियो १ सय ९१ मिलियन स्विडिस क्रोनर। एयरवेलको आधाभन्दा बढी हिस्सा लिने बित्तिकै टेलिया नेपाल स्याटलाइटको २५ प्रतिशत सेयरको स्वतः मालिक बन्न पुग्यो।

एक बर्षपछि सन् २०१२ मा टेलियाले एयरवेलको बाँकी ४९ प्रतिशत सेयर पनि किन्यो। त्यसका लागि टेलियाले दुई सय ९५ मिलियन स्विडिस क्रोनर खर्चियो। अब उसँग पाल स्याटलाइटको थप ५० प्रतिशत सेयरको स्वामित्व रहने भयो।

यता मुक्तिश्रीसँग रहेको नेपाल स्याटलाइटको सेयरमध्ये थप २५ प्रतिशत एयरवेलको नाममा नामसारी भयो। मुक्तिश्रीको सेयर स्वामित्व १५ प्रतिशतमा खुम्चियो भने एयरवेल ७५ प्रतिशतमा पुग्यो। जुन सेयरको वास्तविक मालिक टेलियासोनेरा थियो।

साइप्रसमा दर्ता भएको एयरवेलको चुक्ता पुँजी १ हजार युरो रहेको थियो। तर यो कम्पनी खरिद गर्न टेलियाले दुई पटक गरि ४ सय ८६ मिलियन स्विडिस क्रोनर खर्चेको थियो।

सन् २०११ र २०१२ दुवै पटक नेपालमा नेपाल स्याटलाइटको सेयर पार भ्यालुमा नामसारी गरिए पनि एयरवेलको भाउ लगातार बढेको थियो। बीचको एयरवेललाई नघुसाइ सिधा हेर्दा तात्कालिन विनिमय दर अनुसार सन् २०११ मा नेपाल स्याटलाइटको २५ प्रतिशत सेयर लिन टेलियासोनेराले २ अर्ब ३ करोड ३ लाख ३० हजार रुपैयाँ खर्चेको थियो। पछि थप ५० प्रतिशत स्वामित्व बढाउँदा ३ अर्ब ६७ करोड ८६ लाख रुपैयाँ तिरेको थियो। यसैमा लाभकर छलेको महालेखाको निश्कर्ष छ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०११ मा एक स्विडिस क्रोनर खरिद गर्न १० रुपैयाँ ६३ पैसा तिर्नु पर्थ्यो। सन् २०१२ मा यो दर १२ रुपैयाँ ४७ पैसा पुगेको थियो। यहि बिनिमयदर अनुसार कम्पनीले एयरवेललाई तिरेको स्विडिस क्रोनरको नेपाली मूल्य निकालिएको हो।

सन् २०११ मा टेलियाले तिरेको सबै रकम एयरवेलको फाइदा थियो। त्यस्तै सन् २०१२ मा तिरेको रकम मध्ये आधा एयरवेलले र आधा मुक्तीश्री टेलिकमले पाएका थिए। उनीहरुले खर्च कटाएर लाभकर तिर्नु पर्ने महालेखाले जनाएको थियो।

सन् २०११ र २०१२ मा गरि एयरवेलले पाएको कूल तीन अर्ब ८७ करोड रुपैयाँ हुने र सेयरको सुरु मूल्य ५ करोड रुपैयाँ कटाउँदा ३ अर्ब ८२ करोडमा लाभकर लाग्ने महालेखाले निचोड निकालेको थियो।

Share Now

Leave a comment.