मुम्बई(भारत), २४ जेठ (एजेन्सी) ।बलिउड सुपरस्टार सलमान खानको ईदमा रिलिज भएको फिल्म ‘भारत’ ले बक्सअफिसमा धूम मच्चाएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन रेकर्डतोड व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पहिलो दिन भारतमा मात्र ४२ करोड ३० लाखको व्यापार गरेको छ । योसँगै ‘भारत’ बलिउडको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ छ ।
सलमानको करिअरको सबैभन्दा धेरै कमाउने फिल्म ‘प्रेम रतन धन पायो’ (पहिलो दिन) को बक्सअफिस कलेक्सन समेत ‘भारत’ ले तोड्न सफल भएको छ । यो फिल्मले ४० करोड ३५ लाखको व्यापार पहिलो दिनमा गरेको थियो । ‘भारत’ लाई क्रिटिक्सले राम्रो रेटिङ दिएका छन् । दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ । यो फिल्म भारतसँगै ७० देशमा लगभग १३ सय स्क्रिनमा एकसाथ रिलिज भएको छ ।
‘भारत’ ले पहिलो दिन गरेको रेकर्डतोड व्यापारबाट सलमान पनि निकै खुसी छन् । उनले ट्विटरमार्फत् आफ्नो प्रशंसकलाई धन्यवाद व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘धेरै धन्यवाद, मेरो करिअरको सबैभन्दा ठूलो ओपनिङ दिएकोमा । तर, मलाई सबैभन्दा बढी खुसी, सम्मान र गर्व तब महशुस भयो जब एक सिनमा राष्ट्रगान आउँछ र त्यसको सम्मानमा सबै उभिन्छन् । योभन्दा ठूलो सम्मान मेरो लागि अरु हुनै सक्दैन । ’
‘भारत’ यस वर्ष (२०१९) को सबैभन्दा ठूलो ओपनर फिल्म हो । पहिलो नम्बरमा हलिउड फिल्म एभेन्जर्स स् इन्डगेम छ । यसले पहिलो दिन ५३ करोडको व्यापार गरेको थियो । तर, यो फिल्म भारतमा चार भाषामा प्रदर्शन भएको थियो । ‘भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । सलमानसँगै फिल्ममा कटरीना कैफ, दिशा पटानी, नोरा फतेही, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोवरलगायतका कलाकारहरुको अभिनय छ । फिल्मले दोस्रो दिन बिहीबार कार्यालय हुने दिन पनि ३१ करोडको ब्यापार गरेको छ । शनिवार र आइतबारको विदाको दिनमा यसको ब्यापार बढ्ने अनुमान गरिएको छ ।