भगीरथ योगी
लन्डन (संयुक्त अधिराज्य), २८ जेठ । युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाएका छन्।
सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गरेका हुन्।
“के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?” भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए।
दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो।
एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन्। उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन्।
प्रवचन
अक्स्फोर्डमा “शान्ति, लोकतन्त्र र विकास” विषयमा प्रवचन दिँदै प्रधानमन्त्री ओलीले राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपालको यात्राको चर्चा गरे।
उनले आर्थिक विकास गरी जनताको जीवनमा परिवर्तन नल्याएसम्म राजनीतिक परिवर्तन दीर्घकालीन हुन नसक्नेमा पनि जोड दिए।
The political system of a particular country may inherit its historical background and socio-cultural features, thus making the system unique. We should accept and respect the local reality. pic.twitter.com/3Zqo04SkyJ
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 10, 2019
"For prosperity we need skilled labour. This helps foster prosperity, which should lead to happiness. In this context, we want to define it as- सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली – to underpin our agenda for decent work, wage and workplace." says PM @kpsharmaoli
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 10, 2019
यसअघि सोमवार नै ओलीले स्विट्जरल्यान्डको जिनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए।
Prime Minister Rt Hon K P Sharma Oli while addressing the High Level Centenary Session of the ILO. pic.twitter.com/bqfzpfQK7V
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 10, 2019
In this context, we want to define it as- सक्षमश्रमिक, समृद्धनेपाल, सुखीनेपाली – meaning 'skilled workers, prosperous Nepal, happy Nepali' to underpin our agenda for decent work, wage and workplace, said the Prime Minister.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 10, 2019
लन्डनमा मङ्गलवार उनले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
गत साता सत्तारूढ दलको नेताको पदबाट राजीनामा दिएकी मेले दलको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेकी छन्।
छलफल
दुई देशका प्रधानमन्त्रीको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी व्यापार, लगानी तथा बहुपक्षीय चासोका विषयहरूबारे छलफल हुने लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए।
ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूका गुनासाबारे पनि छलफल हुने बताइएको छ।
भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा भेदभाव भएको बताउँदै आफ्ना माग सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिएका छन्।
तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ। उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो।
भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दाअघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरुको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्।
भूमिगत रेलबाट फ्रान्स जाने
यसअघि गत सेप्टेम्बर महिनामा दुई नेताहरुबीच राष्ट्रसङ्घीय मुख्यालयमा भेटघाट भएको थियो।
नेपालमा छिट्टै रेल यातायात सुरु हुने बताउँदै आएका प्रधानमन्त्री ओली बुधवार रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको प्यारिसका लागि प्रस्थान गर्ने अधिकारीहरुले जनाएका छन्। ओली फ्रान्स र ब्रिटेनबीच समुद्रमुनि अवस्थित ब्रिटिश च्यानल भनिने बनाइएको युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्दैछन्।
के प्रदेश र स्थानीय सरकारबारे प्रम ओली ‘संविधानविपरीत’ बोलेका हुन्
प्रधानमन्त्री ओलीको बिहीवार फ्रान्सका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनले शनिवार युरोपस्थित नेपाली राजदूतहरूलाई सम्बोधन गर्ने र सोही दिन नेपालका लागि प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ।
आलोचना
आवश्यक तयारीबिना युरोपको भ्रमणमा निस्केको भनी सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पछिल्लो विदेश भ्रमणको आलोचना गरिएको छ।
तर अधिकारीहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा आयोजित विशेष समारोहलाई सम्बोधनका साथै नेपालका महत्त्वपूर्ण मित्र राष्ट्रहरू ब्रिटेन तथा फ्रान्सको भ्रमण ती मुलुकहरुसँगको नेपालको सम्बन्ध अरु बलियो बनाउन उपयोगी हुनेमा जोड दिन्छन्।
झन्डै १५ महिनाअघि प्रधानमन्त्रीको रूपमा दोस्रो पटक सत्ता सम्हालेयता ओलीको यो नवौँ विदेश भ्रमण हो।


















