Prakash Adhikari June 18, 2019

काठमाडौं, ३ आषाढ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको आरोप लगाउनु भएको छ। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षको अवरोधका कारण अवसर नपाउनुभएका प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह पत्रकार सम्मेलन गर्दै सो आरोप लगाउनु भएको थियो ।

उहाँले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै बोल्न पाउनुपर्छ भन्ने बालहठ प्रतिपक्षले लिएको आरोप पनि लगाउनुभयो। उहाँले लोकतान्त्रिक व्यवस्थामा पहिले प्रधानमन्त्रीले र त्यसपछि प्रतिपक्ष र मर्यादाक्रम अनुसार बोल्ने परम्परा र अभ्यास रहेको बताउदै लामो लोकतान्त्रिक आन्दोलनमा लागेका मित्र शेरबहादुर देउवाले नेतृत्व गरेर वेलमा गएकोमा आश्चर्यचकित भएको बताउनुभयो ।

लोकतन्त्र, गणतन्त्र, संघीयता, जनताको शासन, जनतान्त्रिक प्रणालीकाविरुद्ध अलोकतान्त्रिकहरूको मोर्चाबन्दी स्पष्ट देखिएको दावी गर्दै भन्नुभयो, घोर दक्षिणपन्थीदेखि घोर वामपन्थी तत्वसम्म एकजुट देखिएका छन्। लोकतान्त्रिक शक्तिहरूमा एक हुनुपर्नेमा विमती भएको बताउदै विस २००७ सालमा पनि परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिलाई साथमा लिनाले संविधान बन्न नसकेको उल्लेख गर्दै भन्नुभयो,जनपक्षीय शक्तिलाई देखि नसहने कारणले २०१७ सालको घट्ना भयो।

उहाँले नेपाली कांग्रेसलाईलोकतान्त्रिक आवरणभित्र प्रतिक्रियावादी आचरण पहिरिएको गम्भीर आरोप पनि लगाउनुभयो।
प्रधानमन्त्री ओलीले बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य बताउदै अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यताहरूका निम्ति लडेर आएको पार्टीको भएको दाबी गर्दै अरूले ल्याइदिएको लोकतन्त्र स्वीकारेर नआएको उल्लेख गर्नुभयो।

उहाँले वर्तमान सरकारलाईआन्दोलनको लामो श्रृंखलामा अग्र भागमा रहेर, संविधान लेखेर संघर्ष गर्दै परिवर्तन ल्याएर आएको अचानक फुत्त कतैबाट निस्किएर, सेनसेसन वाला नारा दिएर सरकारमा नपुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी र सरकार जिम्मेवार प्रेस, स्वतन्त्र प्रेस र मानवअधिकारप्रति प्रतिबद्ध भएको र देश बनाउने अभिभारा बोकेर अभियानमा संलग्न भएको बताउनुभयो।

उहाँले आफ्नो सरकार साम्प्रदायिक विद्वेश भड्काउन खोजिँदा त्यसका पछि नलागी सामाजिक न्याय र सामानतामा आधारित राष्ट्रिय एकतामा सदैव अडिग रहेको दावी गर्नुभयो । आफ्नो पार्टी र सरकार सामाजिक समानतामा आधारित एकतामा शान्ति, स्थिरता र स्थायित्वमा दिंदै समृद्धिमा लागेको दावी गर्नुभयो ।

उहाँले समृद्धिका काम अगाडि बढाउछ भनेर यसबाट केही तत्व आत्तिएको बताउदै भन्नुभयो म दृढताका साथ भन्छु समृद्धिको यात्रा अगाडि बढ्छ।

प्रधानमन्त्री ओलीले हालै आफूले गरेको स्वीजरल्याण्ड, बेलायत, फ्रान्सको भ्रमण अत्यन्त फलदायी रहेको बताउनुभयो । उहाँले आफ्नो भ्रमणले नेपालको प्रतिष्ठा अभिबृद्धि भएको पनि दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गुठी सम्बन्धी विधेयकका केही प्रावधानमा सरोकारवालाहरुको आपत्ति देखिएपछि मन्त्रालयले सो विधेयक फिर्ता लिएको पनि बताउनुभयो ।

Share Now

Leave a comment.