काठमाण्डौ, १२ असार । नेपाल स्टक एक्सचेन्ज लिमिटे (नेप्से)ले ७ वटा ब्रोकरलाई मार्जिन कारोबार गर्न अनुमति दिएको छ ।
नेप्सेले दिव्या क्रिष्टल सेक्युरिटिज(ब्रोकर नम्बर ५०),कोहिनूर सेक्युरिटिज (ब्रोकर नम्बर ३५), भिजन सेक्युरिटिज(ब्रोकर नम्बर ३४) , सेक्योर्ड सेक्युरिटिज(ब्रोकर नम्बर ३६), श्रीकृष्ण सेक्युरिटिज(ब्रोकर नम्बर २८),प्राइमो सेक्युरिटिज(ब्रोकर नम्बर १६) र नेपाल स्टक हाउस(ब्रोकर नम्बर १४)लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो ।
अब यी ब्रोकर हाउसबाट कारोबार गर्ने लगानीकर्ताले सहज रुपमा मार्जिन लोन पाउने अवस्था सिर्जना भएको छ । यी सातैवटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा सुचारु गर्न राष्ट्रबैंकबाट समेत स्वीकृति पाएका थिए ।
मार्जिन कारोबार सुविधाको लागि अन्य ११ ब्रोकर कम्पनीको समेत निवेदन परेको छ । मार्जिक कारोबारको स्वीकृतिको पर्खाइमा रहेका ब्रोकर कम्पनीहरुमा अनलाइन सेक्युरिजिट, श्वेता सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, सुमेरु सेक्युरिटिज, दिपशिखा सेक्युरिटिज, दिव्या सेक्युरिटिज, एशियन सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, डाइनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिजिट रहेका छन् ।
नेप्सेले बनाएको कार्यविधिअनुसार कम्तीमा १० हजार सेयरधनी भएको, दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको, आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीका लागि मात्र मार्जिन सुविधा उपलब्ध हुनेछ ।
मार्जिन कारोबार कार्यविधि,२०७५ बमोजिम मार्जिन कारोबारका लागि आवश्यक मापदण्ड पुगेका ब्रोकर कम्पनीहरुले राष्ट्र बैंकको स्वीकृति पाएर नेप्से सञ्चालक समितिले कारोबार सुचारुको अनुमति दिनेछ ।
धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए अनुसार हुने व्यवस्था गरेको छ ।
तर, दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराएबापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनुपर्नेछ ।
मार्जिन कारोबारको सुविधा लागू गर्नुअघि यो विषयमा लगानीकर्तालाई नेप्सेलाई सचेतनामूलक कार्यक्रम संचालन गर्न र ब्रोकरमार्फत समेत यस्तो कार्यक्रम संचालन गराउने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।
मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ र नेप्सेले वनाएको मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोवार सुविधा सम्वन्धमा वोर्डले गरेका व्यवस्था बारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको बोर्डले जनाएको छ ।
मार्जिन कारोबारको सुविधाले धितोपत्र व्यवसायीको कार्य दायरा विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँबाट कारोबार सम्बन्धी सेवा प्राप्त हुने तथा दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र बजारको विकास हुने अपेक्ष गरिएको छ ।


















