Prakash Adhikari June 27, 2019

सानोठिमी(भक्तपुर), १२ आषाढ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा बिहिबार दिउँसो सार्वजनिक गरेको छ ।

बोर्डले भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर एसर्ईर्ईको नतिजा सार्वजनिक गरेको हो।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपरेको र विगतमा भन्दा जनशक्ति कम भएकोले अघिल्ला बर्षहरुभन्दा केही ढिलो नतिजा प्रकाशन भएको परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा ९ हजार ५ सय ९६ छात्र र ७ हजार २ सय ८६ छात्रा छन्। ४८ हजार ९ सय ६० ले ए जीपीए ल्याएका छन्। २७ हजार २ सय ७९ छात्र र २१ हजार ६ सय ८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार १ सय १० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।

यस्तै, ६० हजार ७ सय ६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १ सय ६६ छात्र र २६ हजार ५ सय ४० छात्रा छन्। ९७ हजार २ सय ९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७ सय ८९ छात्र र ५१ हजार ५ सय १० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जना छन्। जसमा ४२ हजार ८ सय ८३ छात्र र ५३ हजार ३ सय ३६ छात्रा छन्।

४३ हजार ८ सय ४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १ सय ३३ र छात्रातर्फ ३४ हजार ७ सय ७ रहेका छन्। ४ हजार ४ सय २९ जनाले डी जीपीए ल्याए । जसमा १ हजार ८ सय ६६ छात्र र २ हजार ५ सय ६३ छात्रा छन्।

गत चैतमा भएको एसर्ईर्ईमा कुल ४ लाख ७५ हजार तीनजना विद्यार्थी सहभागी थिए।  परीक्षामा छात्रतर्फ २ लाख ३० हजार १ सय ४१ र छात्रातर्फ २ लाख २९ हजार १ सय ३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ।

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र विगतको आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

नतिजा परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक भएको एसईईको नतिजा नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाएपछि जानकारी पाउन सकिनेछ । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, ल्याण्डलाईन टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ । यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

 

Share Now

Leave a comment.