Prakash Adhikari August 4, 2019

टेक्सास(संयुक्त राज्य अमेरिका),१९ साउन(बीबीसी) । अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।

एल पासो सहरमा भएको उक्त घटना टेक्ससका लागि “इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको” टेक्ससका गभर्नरले बताएका छन्।

घटना अमेरिका र मेक्सिकोको सीमाभन्दा केहीपर रहेको वालमार्ट स्टोरमा भएको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।

सन्दिग्ध व्यक्ति एल पासोभन्दा एक हजार ४६ किलोमिटर पूर्वमा पर्ने ड्यालस सहरका बासिन्दा भएको बताइएको छ।

बन्दुक नियन्त्रणका लागि अमेरिकाभरि र्‍याली
बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग
अमेरिकी सञ्चारमाध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्।

घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।

मेक्सिकोका नागरिक पनि हताहत
मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो।

यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

टेक्ससमा भएको यो घटना अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमण भएको बताइन्छ।

वालमार्टमा बन्दुक आक्रमण
वालमार्टमा किनमेल गर्न गएका मानिसहरू स्तब्ध भएका थिए

के भएको थियो?

एल पासोका प्रहरी प्रमुख ग्रेग एलनका अनुसार बन्दुक बोकेका सन्दिग्ध व्यक्तिबारे सूचना प्राप्त गरेको छ मिनेट भित्रै अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

वालमार्टमा त्यतिखेर ग्राहकहरूको भिड थियो। घटनामा संलग्न भएका २१ वर्षीय सन्दिग्ध युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली नचलाएको बताइएको छ। उक्त घटनामा परेका पीडितहरूको विभिन्न उमेर समूहका रहेको बताउँदै एलनले घटना ‘भयानक’ रहेको बताए।

पीडितहरूलाई तत्काल रगतको आवश्यकता रहेको भन्दै एल पासोको प्रहरीले रक्तदान गर्न आह्वान गर्दै एउटा ट्वीट गरेको छ।

वालमार्टमा बन्दुक आक्रमण

गोली चलेको आवाज सुन्दै गर्दा कीयन्ना लङ आफ्ना श्रीमान्‌सँग वालमार्टमा थिइन्।

“मानिसहरू आत्तिएका थिए र दौडिँदै थिए,” लङ्ले रोएटर्ससँग भनिन्। आफूहरू वालमार्टको सामान राखिएको कोठामा पुगेर अन्य ग्राहकसँगै लुकेको लङले बताइन्।

घटनाका अर्का प्रत्यक्षदर्शी ग्लेन्डोन एक्लीले सीएनएनलाई बताएअनुसार एक बालकले वालमार्टमा बन्दुकधारी प्रवेश गरेको सूचना उनीसहित नजिकैको अर्को शपिङ मलमा रहेका अरू व्यक्तिलाई दिएका थिए।

उनका अनुसार ती बालकको दाबीलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको तर केही मिनेटमै आफूले दुई पटक गोलीको आवाज सुनिएको थियो।

प्रतिक्रिया
यो आक्रमणबारे अमेरिकामा व्यापक प्रतिक्रिया आएको छ।

यसबाट बन्दुक राख्न पाउने कानुनमा कडाइको माग फेरि जागेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने तटस्थ देखिएका छन्।

उनले एउटा ट्वीटमा सो स्थानबाट प्राप्त विवरण “निकै नराम्रो र धेरै जनाको मृत्यु भएको” बताएका छन्।

Share Now

Leave a comment.