Prakash Adhikari January 6, 2018

धनगढी(कैलाली), २२ पौष । सशस्त्र प्रहरीको विभागीय टीम धनगढीमा भैरहेको अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा पुगेको छ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै सशस्त्रको टीम अन्तिम आठको स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा पाएको पेनाल्टी र गोल गर्ने अनेकौ मौका गुमाएको सहारालाई पेनाल्टी सुटआउटमा पनि भाग्यले साथ दिएन । पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो। सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनारावाट बाहिरिएको थियो।

पहिलो हाफ र दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुर्याएका हुन।

गोल रोकेर टिमलाई जिताएका नगरकोटी म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत आईतबार काठमाण्डौको सिएमजी संकटा र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ।

प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ।

Share Now

Leave a comment.