कलैया(बारा), २२ पौष। आउँदो माघ २५ गतेदेखि शुरु हुने रुस्लान सिमरा गोल्डकपको नवौं संस्करणका १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक नव जनजागृति युवा क्लबका पदाधिकारीहरुले यसको जानकारी दिएका हुन् ।
प्रतियोगितामा विजेताले उपाधिसहित ५ लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछ भनेउपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ भने व्यक्तिगत विधातर्फ जनही १५–१५ हजारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु ५ हजारको पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा एपिएफ क्लब, नेपाल आर्मी, सहारा क्लब,संकटा क्लब, थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, अग्नी रुपन्देही–११, हेटौडा–११, झापा–११, बिरगंज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लब गरी कुल १० टोलीहरुको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव शम्भु सिंह ठकुरीले प्रतियोगिताका लागि आवश्यक तयारी शुरु भईसकेको जानकारी दिए ।