काठमाडौं,१७ असोज । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय मानिएको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा गठित समितिले डा. भगवान कोइराला, डा. धर्मदत्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ ।
समितिले तीन जना मध्ये डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकसमेत बन्नुभएको थियो । उहाँले असहज परिस्थिति उत्पन्न भएकोले कार्यकारी निर्देशक बनेको १ सय ८ दिनमा नै पदबाट राजीनामा दिनुभएको थियो ।
उपकुलपतिका लागि सिफारिस नामावलीको दोस्रो नम्बरमा रहेका डा. बास्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश पाउनुभएको हो । डा. बास्कोटा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ हुनुहुन्छ ।
तेस्रो नम्बरमा सिफारिस भएका डा. पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुनुहुन्छ। तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरेको थियो ।


















