Prakash Adhikari January 9, 2018

काठमाडौं, २५ पौष । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा. डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

सर्वोच्च अदालतको आदेश बमोजिम उनलाई मंगलबार बिहान ९ बजेपछि सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

उनलाई एम्बुलेन्समा राखेर कडा सुरक्षाका बीच अदालत पुर्याइएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको मानहानी सम्बन्धी मुद्दामा प्रा. डा. के.सी.लाई अदालतमा उपस्थित गराउन नेपाल सरकार र प्रहरी प्रघान कार्यालयका नाममा आदेश दिएको थियो ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पहिले नियुक्त भएका डीन डा. शशि शर्मालाई पुनर्बहाली गर्ने फैसला गरेपछि सोको विरोध गर्दै न्यायाधीशहरुको समेत राजिनामाको माग गरी अनशनमा बसेका डा. केसीलाई नेपाल प्रहरीले अनसनस्थलबाटै सोमबार साँझ पक्राउ गरेको थियो ।

डीन नियुक्ति प्रकरणमा परेको रीटमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहितका न्यायमूर्तिहरुले दिएको फैसलाको विरोध गर्दै न्यायाधीश र न्यायलयविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको सम्बन्धमा परेको रीटमा सुनुवाई गर्दै न्यायाधीश शाहीको एकल इजलासले प्रा.डा. के.सी.लाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

डा. केसीलाई पक्राउ गरिएको विरोधमा उनका समर्थकहरुले मंगलबार बिहान ८ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

प्रा.डा. के.सी.को समर्थनमा भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत नागरिक समाजका अगुवा तथा यथास्थितिमा सुधार र सुशासनका पक्षधरहरुको ठूलो सहभागी रहेको थियो ।

Share Now

Leave a comment.