ह्वाइट हाउस(वाशिंटन डीसी), १० कार्तिक(बीबीसी) । अमेरिकी सेनाले इस्लामिक स्टेटका नेताविरुद्ध कारबाही गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।
तर अबु बक्र अल-बग्दादीविरुद्धको कारबाहीका समाचार पुष्टी भइसकेका छैनन्।
ह्वाइट हाउसले भनेको छ- राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार ‘महत्त्वपूर्ण घोषणा’ गर्नेछन्। तर त्यसको विस्तृत विवरण दिइएको छैन।
के भने ट्रम्पले?
यसअघि ट्रम्पले एउटा अस्पष्ट ट्वीट गर्दै ‘हालै केही ठूलो घटना भएको’ भनेका छन्।
I
https://twitter.com/AdamMilstein/status/1188299371424579585
पहिचान नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले शनिवार सिरियाको उत्तरपश्चिमी क्षेत्रमा अमेरिकी फौजले आइएसका नेतालाई निशानामा पारेको उल्लेख गरेका छन्।
ठोस जासुसी सूचना प्राप्त गरेपछि अमेरिकी विशेष फौजले कारबाही गरेको न्यूजवीकले जनाएको छ। उसले सो कारबाहीबारे जानकार सूत्रहरूको हवाला दिएर विवरण दिएको छ।
एकजना अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थालाई कारबाही भएको तर बग्दादी मारिएको वा नमारिएको पुष्टि गर्न नसकिने बताए।
विगतमा पनि बग्दादी मारिएका भनेर गलत समाचार आएका थिए।
ह्वाइट हाउसले कारबाही भएको वा त्यसको परिणामबारे केही बताएको छैन।
राष्ट्रपति ट्रम्पले आइतवार साँझ (नेपाली समय अनुसार पौने सात) तिर वक्तव्य जारी गर्ने बताइएको छ।
को हुन् अबु बक्र अल-बग्दादी?
आइएसका नेता बग्दादी विश्वका सबभन्दा खोज गरिएका व्यक्ति ठानिन्छन्।

सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतंककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा १ करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रुर विद्रोही योद्धाको रूपमा कुख्यात छन्।
सन् १९७१ मा बग्दादको उत्तरस्थिर समरामा उनको जन्म भएको थियो।
विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीँको एक मस्जिदमा धर्मगुरु थिए।
कतिपयका अनुसार सद्दाम हुस्सेनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।
अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए।
सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।
सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए।
आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी संगठनको उच्च नेतृत्वमा उदाए।
यसै वर्षको सुरुमा आइएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।
त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन। त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर क्यालिफेट निर्माणको घोषणा गरेका थिए।


















