काठमाडौं, ११ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद( साग)अन्तर्गत हुने भलिबल प्रतियोगिता आज(मंसिर ११ गतेबुधबारं)देखि सुरु हुँदैछ ।
उद्घाटन पहिले नै भलिबलको प्रतियोगिता सुरु भएको हो । १३ औं दक्षिण एशियाली खेलको औपचारिक उद्घाटन मंसिर १५ मा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।
भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषय अझै टुंगो लाग्न बाँकी छ ।
नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्दैछ ।
दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिम १३ औं सागमा पनि च्याम्पियन बन्ने उच्च आकांक्षा राखेको छ ।
नेपाली टीमकी कप्तान अरुणा शाहीले त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको बताएकी छन् ।
घरेलु मैदानमा हुने खेलमा दर्शकको सकरात्मक तथा नकरात्मक दुवै खालको समर्थन प्राप्त हुने विश्वास शाहीको छ ।
१३ औं सागकै तयारीस्वरूप नेपालले करिब ३ साता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्टरमा ट्रेनिङ गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेको थियो ।
त्यसपछि बंगलादेशमा सेन्ट्रल जोन खेल नेपालले जितेको थियो ।
अरुणाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल जित्ने आकांक्षा राखेको महिला भलिबल टीमका सदस्यहरुलाई मंगलबार सरकारले सेन्ट्रल जोन उपाधि जितेको उपलक्ष्यमा जनही ३ लाख रुपैया प्रदान गरेको छ ।
प्रधानमन्त्रीले सम्बोधन सहित सम्मान गर्ने भनिएको सो कार्यक्रममा अकास्मात स्वास्थ्यमा खराबी आएकोले प्रधानमन्त्री उपस्थित हुन सक्नुभएन् । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गरेर सम्मानित गर्नुभयो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नुभएको थियो।



















