काठमाडौं, ११ मंसिर । तेह्रो दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबल अन्तर्गतको पहिलो खेलमा नेपालले बंगालादेशलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई तीन वटै सेटमा पराजित गरी ३ अंक प्राप्त गरेको छ।
पहिले र दोस्रो २५–९ ले विजयी भएको नेपाल अन्तिम सेटमा २१–१ ले विजयी भयो। पहिलो सेटमा सरस्वती चौधरीले सर्वाधिक ५ पोइन्ट, प्रतिभा मालिले ४ पोइन्ट र रेस्मा भण्डारीले ३ पोइन्ट जोडिन।
त्यस्तै दोस्रो सेटमा प्रतिभाले ६, सरस्वतीले ४, हीरा केसीले ३, ऊषा भण्डारीले ३ पोइन्ट जोडेकी थिईन। खेलमा नेपालकी १६ बर्षीया ऊषा भण्डारीले राष्ट्रिय महिला भलिबल टिममा डेब्यु समेत गरिन्।
नेपाली महिला टीम अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ। दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ कोर्टमा उत्रिएको थियो।

भलिबलको नेपाली महिला टीमले आगामी शुक्रबार हुने अर्को खेलमा भारतसंग प्रतिस्पर्धा गर्ने छ।
नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।
महिला भलिबलमा भुटानबाहेक अन्य मुलुकको सहभागिता रहने जनाइएको छ ।


















