काठमाडौं, ११ मंसिर । संयुक्त राष्ट्रसङ्घको इन्टरनेट गभर्नेन्स फोरममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल पुनः नियुक्त हुनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको इन्टरेनट गभर्नेन्स फोरम (आइजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा खनाललाई पुनः नियुक्त गरेको हो। खनाललाई संयुक्त राष्ट्रसङ्घका महासचिवले सन् २०२० को लागि सदस्यमा नियुक्त गनुभएको हो ।
आइजीएफ संयुक्त राष्ट्रसङ्घको सूचना प्रविधिसम्बन्धी हेर्ने निकाय हो जसले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ। आइजीएफले इन्टरनेट प्राविधिक, व्यावसायिक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवद्र्धन तथा साइबर सेक्युरिटी लगायतमा काम गर्दै आएको छ।
यसअघि खनाल विश्व दूरसञ्चार सङ्घको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भइसक्नुभएको छ। उहाँलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो।
सङ्घका एसिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञमध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।


















