काठमाडौं, १२ पौष । मधुर स्वरकी धनी भारतीय गायिका आशा भोसले आज नेपाली स्रोताबीच गुञ्जने हुनुभएको छ ।
साधना कला केन्द्रको विशेष निमन्त्रणामा वरिष्ठ संगीतकार रन्जित गजमेरको सम्मानमा आयोजित ‘गायिका आशा भोसलेसंग रन्जित गजमेरको सांगितिक यात्रा’ नामक कार्यक्रममा सहभागी हुन गायिका भोसले नेपाल आइसक्नु भएको छ ।
शुक्रबार गायिका आशा भोसलेले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुभयो । सो अवसरमा आफ्नो मधुर स्वरमा नेपाली गीत गाएर नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाइदिनुभएकोमा राष्ट्रपति भण्डारीले उहाँको प्रशंसा गर्नुभएको थियो ।
केन्द्रका निर्देशक मिलन मोक्तानका अनुसार गायिका भोसलेले राष्ट्रपतिसमक्ष नेपाली संस्कृतिअनुसार पाएको उल्लासमय स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभएको थियो।
गायिका भोसलेले होटेल सोल्टीमा हुने शनिबार हुने सांगीतिक कार्यक्रममा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर…,’ ‘म प्यार बेचिदिन्छु…’, ‘गैरीखेतको शिरै हान्यो…,’ ‘मोहनी लाग्ला है…’ लगायत गीतमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
गायिका भोसले को आगमनमा अत्यन्त उत्साहित हुँदै नेपाली गायक रामकृष्ण ढकालले भन्नुभएको छ, ‘यो नेपाली साङ्गीतिक इतिहासका क्षेत्रमा हाम्रो गौरवको कुरा हो, हामी हरेक सङ्गीतकर्मी र गीतसङ्गीतप्रेमिका निम्ति खुसीको क्षण हो। उहाँको नेपाली साङ्गीतिक क्षेत्रमा रहेको अद्भुत रुचि ,चासो ,योगदान र प्रेमलाई हामी सबैले मनन गरि उहाँको स्वागतार्थ तत्पर रहनुनै हाम्रो नेपाली पन हो । बरिष्ठ सर्जक श्री रञ्जित गजमेरज्यूप्रति बधाई व्यक्त गर्दछु। यो बिशिष्ट र ऐतिहासिक कार्यक्रममा म पनि सहभागी भएर गाउँदैछु ,निश्चय नै मन हर्षित छ। यहाँहरु सबैलाई म सविनय हार्दिक निमन्त्रणा सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
https://www.facebook.com/RamKrishnaDhakalOfficial/posts/2955940774429621:0