Prakash Adhikari January 14, 2018

गोदावरी(कैलाली), ३० पौष । प्रधानमन्त्री शेरवहादुर देउवाले दुई तीन दिनभित्र सात वटै प्रदेशको प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।

कैलाली जिल्लाको गोदावरी धाममा आइतबार विहान १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा निर्वाचन लगत्तै वामगठबन्धनमा सहभागी एमाले र माओवादी दुवै पार्टीले सहमति नदिएकोले बिलम्ब भएको स्पष्ट पारे ।

उनले आफू अझै पनि सहमतिको प्रयासमा रहेको बताउदै राजधानी फर्केर सहमतिको प्रयास गर्ने तर अब अरु दल सहमतिमा नआए दुइ तीन दिनभित्रै आफूले कार्यकारी अधिकार उपयोग गर्दै प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जानकारी पनि दिए ।

सत्ता छोड्न आतुर

प्रधानमन्त्री देउवाले निर्वाचनमा पार्टी विजयी हुन नसकेपछि आफूलाई सत्तामा टाँसिएर बस्ने इच्छा नभएको बताउदै सत्ता छोड्न आतुर भएको पनि बताए । उनले राष्टिय सभाको निर्वाचन विना प्रतिनिधिसभाले समेत पूर्णता पाउन नसकेकोले निर्वाचन आयोगसंगको परामर्शमा माघ २४ गतेका लागि राष्टिय सभाको निर्वाचन मिति तय गरिएको उल्लेख गरे ।

धार्मिक कार्यक्रममा राजनीतिक कुरा बोल्ने इच्छा नभए पनि अन्य वक्ताहरुले उठाएको प्रश्नको जवाफ दिनै पर्ने भएकोले राजनीतिक कुरा बोल्न बाध्य भएको उल्लेख गर्दै भने, ‘बहुमत ल्याउनुस्, सरकार बनाउनुस् । कसले रोकेको छ ?

उनले राष्टिय सभाको पूर्णता विना प्रतिनिधिसभा पूर्ण नहुने भन्दै दुखेसो प्रकट गरे , प्रतिनिधिसभा नै पूर्ण भएकै छैन, कसलाई सत्ता हस्तान्तरण गरुँ ?

कानुनसम्वत रुपमा आए आफू मिनेटमा सत्ता छाड्न तयार रहेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझी सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुन्छ ? लाज त लाग्नु पर्ने हो ।’

प्रधानमन्त्रीभन्दा पहिले बोलेका कैलाली ५ का सांसद एमाले नेता नारादमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए ।रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले भने, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।अहिले त यति उत्ताउलो हुनुहुन्छ, भोलि के गर्नुहोला ? ’

प्रधानमन्त्री देउवाले वाम गठबन्धनले अहिलेसम्म प्रधानमन्त्रीको टुंगो नलगाएको पनि आरोप लगाए ।वाम गठबन्धनभित्र को प्रधानमन्त्री बन्ने टुंगो लागेको छैन, मेरो ब्रतबन्ध भएको स्थानबाट भन्छु, म सत्ता कसलाई हस्तान्तरण गरुँ ?’

देउवाले कसैले प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको वताए ।

प्रधानमन्त्री देउवाले गोदावरी क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने बताए । मकर मेलाको उद्घाटनमा सांसद राना र गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले पनि गोदावरी क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने माग गरेका थिए ।

गोदावरी धाम विकास समितिका संयोजक पदमराज जोशीको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन समारोहमा धामबारेमा सह–संयोजक मदनराज पाण्डेले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

दुईवर्ष अघि गोदावरी धाममा कुम्भमेलाको आयोजना गरिएपछि त्यहाँ हरेक वर्ष माघ महिनाभरी १२ राशी मकर मेला लाग्दै आएको छ ।

माघ १ गतेबाट सुरु हुने १२ राशि दर्शन मकर मेलाको सबै तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् ।

मकर मेलाका लागि गोदावरी क्षेत्रलाई निकै झकिझकाउ गरी दुलहीझैं सजाइएको छ । मकर मेलामा मूख्य आर्कषणका रुपमा श्रीयन्त्रलाई विशेष सजावट गरिएको छ । श्रीयन्त्रमा १२ राशी र ९ ग्रहको स्थापना गरिएको छ ।

मेला अवधिभर सुदूरपश्चिम लगायत सीमावर्ती भारतका विभिन्न ठाउँबाट लाखौँ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको गोदावरी धाम ब्यवस्थापन समितिका संयोजक पदमराज जोशीले जानकारी दिए ।

गोदावरी धामलाई गोदावरी नदीमा आउने बाढीले संकटमा पारेका भन्दै आयोजकहरुले प्रधामनन्त्री समक्ष धाम जोगाउन पनि आग्रह गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठक, दीक्षान्त समारोहमा सहभागी बन्न प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री देउवा शुक्रबार धनगढी आइपुगेका थिए ।

Share Now

Leave a comment.