धनगढी(कैलाली), ३० पौष । सशस्त्र प्रहरी बलको विभागीय टोली (नेपाल एपीएफ क्लब) धनगढीमा भैरहेको दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एपीएफले आइतबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधीको लागि सोमबार नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शनिबार साविक विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको थियो ।
धनगढी रंगशालामा सम्पन्न आइतबारको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
उत्तरार्धको ५६ औं मिनेटमा युवा स्टार अञ्जन विष्टले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । मैदानको दाँया भागबाट सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरेको बललाई अञ्जनले गोलमा परिणत गरेका थिए ।
अन्जनको गोलसँगै बल आउट भएको भन्दै आक्रोशित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकिन पुगेको थियो । त्यसपछि खेल सुचारु हुदा एपीएफका नवीन लामाले ७७ औं मिनेटमा अर्को गोल गरी एपिएफको जितलाई सुनिश्चित गरे ।
खेलमा थपिएको ११ मिनेटको इन्जुरी समयमा घरेलु टोलीको गोल गर्ने प्रयास सफल भएन ।
विजयी गोल गरेका नवीन खेलको म्यान अफ दि म्याच घोषित भए ।
उनले १० हजार रुपैया प्राप्त गरे ।
पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका विभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५÷१५ हजार पाउने छन् ।
उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।