प्रकाश अधिकारी
काठमाडौं, १ माघ । राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको उच्च व्यवस्थापनले निगममा कार्यरत उडान कर्मचारी र निगमको जहाजवाट यात्रा गर्ने यात्रुहरुको जीवनमा खेलवाड गरेको भेटिएको छ ।
नागरिक उड्डयन गर्ने र गैर नागरिक उड्डयनका लागि पनि चालक दल, उडान कर्मचारी र यात्रुको जीवनको सुरक्षा पहिलो कर्तब्य हो । यात्रुहरुलाई सुरक्षित रुपमा निर्धारित समयमा, आरामदायी रुपले बिना झन्झट आफ्नो गन्तब्यमा पुर्याएर नै विमान कम्पनीहरुले आफ्नो साख अभिबृद्धि गर्दछन् । यात्रुहरुको मन जित्दछन् । सुरक्षित र भरपर्दो सेवा दिने विमान सेवाहरुले पर्याप्त यात्रु आकर्षित गरी मनग्य नाफा पनि कमाउछन् ।
तर यही उद्देश्य लिएर स्थापना भएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने आफन उड्डयन कर्मचारी, व्यक्तिगत रकम तिरेर संस्थाको सेवा लिई संस्थाको जीवन धानिदिने यात्रुहरुको जीवनलाई जोखिममा पार्ने गरी उडान सञ्चालन गरिरहेको भेटिएको छ । निगमको नाइन एन एकेएक्स (9N-AKX) संकेत चिन्हको लुम्बिनी नामक विमानमा ककपीटको अटोलक सिस्टम बिग्रेको सातमहिना भयो, निगम व्यवस्थापनले त्यसको मर्मत गरेको छैन् ।
निगमका पाईलट र उड्डयन इञ्जिनियरहरुको अनुसार आधुनिक विमानमा गाडीहरुको चावीले परबाट ढोका खोल्न मिलेजस्तै ककपीटमा जान र निस्कनका लागि प्रयोग गरिने ढोका पनि अटोसिस्टमको चाबीबाट खोल्न र लगाउन मिल्छ । यो बिग्रेकोले ककपीटबाट बाहिर निस्केको पाइलट र को-पाइलटसहित चालकदलका सदस्यहरु ककपीटमा पस्न भित्रबाट म्यानुअल्ली ढोका खोल्नु पर्दछ । पाइलट वा कोपाइलट मध्यै कुनै लेबोरेटरी(ट्वाइलेट) जान वा जहाजका यात्रुहरुको निरीक्षण वा परिचित विशिष्ट व्यक्तित्व वा यात्रुहरुसंग भेटको लागि बाहिर निस्कदा कटपीटमा रहेका पाईलट वा कोपाईलट अचानक विरामी पर्ने, बेहोस हुने वा निदाउने (निगमका पाइलटहरुमा त उडानमा नै निदाउने रोग पनि देखिएको छ ।क्याप्टेन नागराज उडानमा निदाएकोमा कारबाहीमा पनि पर्नुभएको थियो ।) अन्य कमजोरीले जहाजको नियन्त्रण गर्न असमर्थ रहेमा बाहिर निस्केको उडान कर्मचारी भित्रपस्न सक्दैन । करिब ४० हजार फिटको उचाईमा रहेको जहाज दुर्घटनामा पर्न सक्छ ।
एपीयू एक महिनामा नै बिग्रियो
निगमको न्यारो बडीका जहाज मध्ये लुम्बिनीमा अटोलकको समस्या छ भने अर्को सगरमाथा नामक जहाजमा एपीयू(एक्जिलरी पावर युनिट)को समस्या देखिएको छ । सो जहाजको एपीयु बिग्रेको ७ महिना पछि फेरिएको थियो । तर १ महिना नपूग्दै फेरी बिग्रियो ।
निगम सुधार गर्ने झूटो बाचा गरेर कार्यकारी अध्यक्षमा आउनुभएका मदन खरेलबाट संस्था डुब्छ भन्ने कल्पना कसैले गरेको थिएन । तर उहाँको नियत पनि सफा रहेनछ । उहाँले निगमको पुरानो व्यवस्थापनले निगमका अन्तराष्ट्रिय उडान रहेका जहाजहरु मध्यै न्यारोबडीका जहाजको इञ्जिन र बडीको मर्मत संभार तथा वाईडबडीका जहाजको अवधि पुगेका पार्टपूर्जा (पावर वाई आवर) फेर्ने सम्बन्धी टेण्डरहरु बिगारी दिनुभयो ।
कमिशनको मोलमोलाईमा दरभाउ नमिलेपछि मूल्याकन भएर पुरस्कृत गर्ने चरणमा रहेको न्यारो बडीको मर्मतसंभार केन्द्र चयन गर्ने टेण्डर रद्द गर्ने र वाइड बडीको ‘पावर वाई आवर’का सामान आपूर्ति गर्न टेण्डरमा सस्तो प्र्रस्ताव पेश गर्नेलाई बाहेक गरी दोस्रोलाई दिएर बीचको मार्जिन रकम खाने उहाँको दाउमा लेखासमितिले हस्तक्षेप गरेपछि दुवै विषय सार्वजनिक सरोकारको मुद्दामा अदालतमा पुगेको छ । उहाँकै सक्रियतामा अदालतमा पुगेकोले जहाजलाई भूमिस्थ गराएर आफ्नो विश्वासको कम्पनीलाई इच्छित रकममा काम दिएर दाम कमाउनका लागि अध्यक्षलाई यो सजिलो उपाय भएको छ ।
पैसा कमाउने आफ्नो निहित स्वार्थ पूरा गर्न अध्यक्ष जस्तो व्यक्तिले उडान कर्मचारी( पाइलट,इञ्जिनियर,एटेण्डेण्ट तथा एअरहोस्टेसं) र पैसा तिरेर सेवा लिने निगमका लागि देवतासरह पूज्नुपर्ने यात्रुहरुको जीवन धरापमा पारेर उडान चलाउन विवश बनाउनुभएको छ ।
अध्यक्ष सुन्नुहुन्न, मन्त्री बुझ्नुहुन्न
आफ्नै जीवनमाथि खेलवाड भैरहेको र यात्रुहरुको जीवनलाई समेत जोखिममा पारेर निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालन भैरहेको विषयमा निगमका पाइलट र उडा्रयन कर्मचारी सहित आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुले पटक पटक यस विषयमा सञ्चालक समिति र निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई जानकारी गराएका थिए । तर व्यक्तिगत आर्थिक स्वार्थ रहेका विषयलाई पहिले निर्णय गराएर पछि सञ्चालक समितिबाट अनुमोदन गराउने कार्यशैली अपनाउदै आउनुभएका कार्यकारी अध्यक्ष खरेलले यो विषयलाई कसैका सामु पनि गम्भिरतापूर्वक लिनु भएन ।
निगमका प्रतिनिधिहरुले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि जानकारी गराएको बताएका छन् । उनीहरुका अनुसार उहाँ पनि निगमको सन्दर्भमा कुनै निर्णय लिन सक्ने अवस्थामा हुनुहुन्न ।’ मन्त्री परिषद्ले निर्णय गरेर कार्यकारी अध्यक्ष नियुक्त गरेकोले मेरो प्रधानमन्त्रीसंग विशेष सम्बन्ध छ, मन्त्री सचिवको आदेश टेर्दिन जोरी खोजे देखाइदिन्छु ‘भन्ने कार्यकारी अध्यक्षको धम्कीका सामु मन्त्री निरिह हुनुभएको छ ।
प्रधानमन्त्री ओली आफ्नै जीवनको चिन्ताले छट्पटाइरहनु भएको छ । देशको बृहत्तरहित सोच्न सक्ने अवस्थामा त हुनुहुन्न भने नेपाल वायुसेवा निगम उहाँको प्राथमिकतामा पर्ने कुरा भएन । ‘झापाली भएको नाताले प्रधानमन्त्रीसंग विशेष सम्बन्ध छ’ भन्दै कर्मचारी र निगमसंग व्यापारिक स्वार्थभएका व्यक्तिहरुलाई थर्काएर खाने माध्यममात्रै भएको छ, अध्यक्ष खरेलको झापाली कनेक्सन । आफ्नै पार्टीको सचिवालय बैठकमा उपस्थित हुन नसक्ने प्रधानमन्त्री ओलीसंग मन्त्रीहरुले त जरुरी काममा भेट्न पाएका छैनन् भने निगमको अध्यक्षले पाउने अवस्था यथार्थमा छैन ।
मन्त्रीसंगको आशा निराशामा परिणत हुँदै
साउन १५ गते वर्तमान मन्त्रीमण्डलमा समावेश हुँदा युवा मन्त्री योगेश भट्टराईसंग विभागीय कर्मचारी, नेकपाका उत्साही युवाहरु र अन्य दलका युवा सांसदहरुले पनि ठूलो आशा र भरोसा व्यक्त गरेका थिए । भविष्यमा प्रधानमन्त्रीको संभावना बोकेका उत्साही युवा मन्त्री भएकोले माफियाहरुले वदनाम पारेको पर्यटन क्षेत्रले काँचुली फेरिने आशा गरिएको थियो ।
पर्यटन क्षेत्रको सुधारको पहिलो कदम नै राष्ट्रिय ध्वजावाहकको सुधार हो भन्ने यथार्थबोध भएपछि उहाँले हप्तादिनभित्रै पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा नेपाल वायुसेवा सुधार समिति गठन गरी १ महिनाको कार्यावधि दिनुभयो । सो समितिले निगम सुधारको रोडम्यापसहितको प्रतिवेदन पनि दियो । त्यो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री भट्टराईले सुधारको तीर चलाउन त कहाँ हो कहाँ त्यसपछि गतिलोसंग शीर उठाउन पाउनुभएको छैन् ।
भव्य तामझामका बीचमा नेपाल भ्रमण बर्षको शुभारम्भ त भयो तर अन्तराष्ट्रिय उद्गमस्थलमा गरिने कार्यक्रम उहाँका सल्लाहकार, सहयोगी र संबन्धित मुुलुकका जिम्मेवार नेपाली प्रतिनिधिहरुको ध्यान नपूग्दा विवादित हुन पुग्यो ।
पूर्ण सरकारी स्वामित्वमा रहेको निगमका अध्यक्ष मदन खरेल मन्त्री,सचिव र मन्त्रालयको अस्तित्वलाई नै टेर्नुहुन्न । हट्ने भयले त्रसित भएकोले उहाँ पैसा बटुल्नेमा लाग्नुभएको छ । निगमको सुधार गर्ने रुचि छैन् । निगमको साखः, कर्मचारीको जीवन र भविष्य नै जोखिममा पर्दै गएकोले कर्मचारीलाई पनि काम गर्र्ने जाँगर छैन । निगमसंग जहाज छन् ।व्यवस्थापन छैन । चिनबाट ल्याएका चारवटा वाई १२ र दुईवटा एमए ६० जहाजहरु पूर्ण क्षमतामा उड्न सकेका छैनन् ।नयाँ गन्तब्यमा अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने काम विज्ञप्ति र पत्रकार सम्मेलनमा सीमित छ । जीएसए नियुक्तिमा पनि करोडौंको खेल हुने कुरा कतार र साउदीको घट्नामा सार्वजनिक भैसकेको छ ।
निगमले २०७५ असार र साउनमा ल्याएका एअरबस ३३०-२४३ सेरिजका २७४ सीट क्षमता भएका जहाजहरुले उपयुक्त गन्तव्य पाएका छैनन् । मदन खरेल कार्यकारी अध्यक्षको रुपमा आएपछि थपिएको ओशाकाको हरेक उडान घाटामा रहेको र कतिपय त रित्तै भएको समाचारहरु आइरहेका छन् । निगममा योग्यता,क्षमता,अनुभव, दखलताको आधारमा होइन अग्रिम भुक्तानीका आधारमा विभागीय जिम्मेवारीसहित अन्तराष्ट्रिय उडानका स्टेशनमा पदस्थापन गरिएको समाचारहरु सार्वजनिक भएका छन् । तर यो कुरा सुशासनको राग अलाप्नुहुने प्रधानमन्त्री र उहाँको मन्त्रिपरिषद्का जिम्मेवार पदाधिकारीहरुले सुन्दैनन, हेर्दैनन, हेर्न चाहदैनन् । नेपाल भ्रमण बर्षको लक्ष्य पूरा गर्न नेपाल वायुसेवाको अहम् भूमिका हुने र निगमको सुधार विना भ्रमण बर्षको लक्ष्य अधुरो हुने देखिएकोले निगमको व्यवस्थापनमा हस्तक्षेप गर्न बिलम्ब भैसकेको छ । निगमको तिनुपर्ने दायित्व लगभग ५० अर्ब पुगिसकेको छ । उड्डयन क्षेत्र बुझेको र अन्तरात्मादेखि संस्था र देशप्रति इमान्दारी भएको ब्यक्ति बाहेक अरुले यसको ब्यवस्थापन सम्हाल्न सक्ने अवस्था छैन् ।