न्यूयोर्क(संयुक्त राज्य अमेरिका),३ माघ (बीबीसी) । ट्रम्प प्रशासनले प्यालेस्टिनीहरूलाई मद्दत गरिरहेको संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको छ।
संयुक्त राष्ट्रसंघका एक अधिकारीले अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौं मानिसहरूमाथि गम्भीर असरहरू पर्ने बताएका छन्।
अमेरिकाले करिब १२ करोड ५० लाख डलरमध्ये ६ करोड पहिलो किस्ता अन्तर्गत दिने र बाँकी ६ करोड ५० लाख डलर चाहिँ रोक्ने जनाएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि नै यदि प्यालेस्टिनीहरूले इजरेलसँगको शान्ति प्रयास अस्वीकार गरे प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने बताएका थिए।
आलोचना
आइतवार प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका थिए।
अब्बासले गत वर्ष अमेरिकाले जेरूसलेमलाई इजरेलको राजधानी मानेपछि अमेरिकाको कुनै पनि शान्ति योजना आफूले स्वीकार नगर्ने बताएका हुन्।
संयुक्त राष्ट्रसंघको राहतसम्बन्धी संस्थाले प्यालेस्टाइनी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवामा सहयोग गर्छ।
गम्भीर चिन्ता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले अमेरिकाले उपलब्ध गराउने त्यस्तो मानवीय सेवा उक्त क्षेत्रमा स्थायित्व कायम गर्नका लागि महत्वपूर्ण भएको बताएका छन्।
उनले भने, ‘ती सहायता सेवाहरू त्यहाँको जनसंख्याको लागि एकदमै महत्वपूर्ण छन्। त्यहाँका मानिसहरूका लागि मात्रै फाइदाजनक नभएर त्यहाँका गम्भीर मानवीय अवस्था र त्यहाँको स्थायित्व लागि पनि ती महत्वपूर्ण छन्।’
राष्ट्रसंघको उक्त संस्थाको वार्षिक बजेटमा वासिङ्टनले झण्डै ३० प्रतिशत रकम उपलब्ध गराउँछ।
एक अमेरिकी अधिकारीले दुई देशबीचको सम्बन्ध आधारभूत रूपमै पुनर्मुल्यांकन हुनुपर्ने बताएका छन्।