Prakash Adhikari February 26, 2020

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने औपचारिक घोषणा गर्नुभएको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा उपाध्यक्ष चन्द्र ढकालले आगामी चैत २८ र २९ मा हुने साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वलाई सहर्ष स्वीकार गर्नुभएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रावधान रहेको छ ।

तर विराटनगरबाट उदाउनुभएका गोल्छा भने विराटनगर कर्मथलो बनाउनुभएका किशोर प्रधानको पक्षमा देखिएर लाग्नुभएको छ । तर ढकालले भने महासंघले अबको ३ वर्षको लागि योग्य नेतृत्व पाएको भन्दै गोल्छाको प्रशंसा गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले देशको आर्थिक विकासको लागि ५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको भूमिका महत्वपूर्ण बनाउन मन,बचन र कर्मले लाग्ने बताउनुभयो ।


गत पुसमा गृहजिल्ला बागलुङको उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा लड्ने घोषणा गर्नुभएका ढकालले सहायक स्तरको जागिरबाट पलाएको उद्यमशीलताले आइएमई हुँदै बैंक,बीमा केबलकार र जलविद्युत, पर्यटन क्षेत्रमा संलग्न भएको बताउनुभयो ।

‘आइएमईको व्यवसायबाट हामीले हजारौ उद्यमी जन्माएका छौ, विदेशमा रगत र पसिना कमाएको पैसा विश्वासका साथ जतन गरेर आश्रित परिवारमा पुर्याउने काम गरेर हजारौ नेपालीको आर्शिवाद पाएका छौ,’ढकालले भन्नुभयो ।

उहाँले भन्नुभयो, हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

कार्यक्रममा उहाँले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी समस्यामा परेके भन्दै त्यसलाई सहजिकरण गर्न राज्यसँग माग गर्नुभयो ।

Share Now

Leave a comment.