काठमाडौं, ३ माघ । राष्ट्रिय सभाको उम्मेदवारी र प्रदेशको सरकारको टुंगो लगाउन बनेको एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलले राष्ट्रिय सभाका ४३ सिटमा उम्मेदवारी टुङ्गो लगाएको छ।
राष्ट्रिय सभाको ५६ सदस्यका लागि आउँदो माघ २४ गते निर्वाचन हुदैँछ। ५९ सदस्यीय राष्ट्रिय सभाका बाँकी ३ सीट राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँड गरेको हो।
‘बैठक पछि एमाले नेता सुवास नेम्बाड.ले एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएको बताए ।
बाँकी १३ सीटमा उम्मेदवारी दिने कि नदिने भन्नेमा कार्यदल सहमतिमा पुगेको छैन । एमाले नेता नेम्बाड. बाँँकी सीटमा थप गृहकार्य गरिने बताउछन भनेकार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डले एकल संक्रमणिय निर्वाचन प्रणालीमा हार्ने स्थानमा उम्मेद्वारी दिन आवश्यक नभएको बताए। ‘१३ सिटमा उम्मेद्वारी दिएर पनि काम छैन’, उनले भने।
तर १३ सिटमा पनि मधेस केन्द्रीत दलहरुसँग छलफल गर्ने जनाएको छ।
गठबन्धनले प्रदेश १ का ८ मध्ये ६ सिटमा उम्मेदवार दिनेछ।यो प्रदेशमा एमालेले ५ सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले १ जना महिला उम्मेदवार उठाउनेछ।
प्रदेश २ मा गठबन्धनले २ सिटमा मात्र उम्मेदवारी दिनेछ। त्यसमा माओवादीले १ महिला र एमालेले १ खुल्ला उम्मेदवार उठाउने छ।
प्रदेश ३ मा एमालेले ५ र माओवादी केन्द्रले २ सिटमा उम्मेद्वारी दिनेछ।
प्रदेश ४ मा एमालेले ४ सिट र माओवादी केन्द्रले २ सिट पाउनेछ।
त्यसैगरी प्रदेश ५ मा एमालेले ४ र माओवादी केन्द्रले २ सिटमा उम्मेदवारी दिनेछन्।
त्यस्तै प्रदेश ६ मा एमालेले ५ र माओवादीले ३ सिटमा उम्मेदवार उठाउनेछन्। प्रदेश ७ मा एमाले ४ र माओवादीले २ सिटमा उम्मेदवारी दिने टुंगो लागेको हो।
यसअघि प्रतिनिधि सभामा एमाले र माओवादीले ६० र ४० प्रतिशत उम्मेदवारी दिएका थिए। राष्ट्रिय सभामा भने उम्मेदवारीको अनुपात ७० र ३० देखिएको छ।
सीटका सम्बन्धमा गठबन्धनको एकता संयोजन समितिमा छलफल हुन बाँकी रहेको माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले बताएका छन्।