काठमाडौ, ४ माघ । बिगत ९ दिनदेखि चल्दै आएको नर्सहरुको आन्दोलन सहमतिमा टुंगिएको छ।
बिहिबार बिहान करिब ११ बजेदेखि झन्डै ८ घण्टा चलेको वार्तामा सरकार र नर्सबीच ११ बुँदामा सहमति जुटेपछि नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन।
स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोली र नेपाल नर्सिङ संघका पदाधिकारीहरुबीच सहमति जुटेपछि ११ बुंदे माग राखेर शुरु भएको नर्सहरुको आन्दोलन ११ बुंदे सहमतिमा नै टुंगिएको हो।
नर्स आन्दोलनको पहिलो माग अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय सम्बोधन भएको छ।
सहमति अनुसार निष्कासित प्रजिना जति र सजना द्धौलालाई ३ महिनासम्मका लागि पुर्नवहाली हुनेछन र उनीहरुलाई साउन यताको तलबको ७५ प्रतिशत रकम उपलब्ध गराइनेछ। साथै सपना द्धौलालाई करारमा नियुक्ति गर्ने सहमति भएको छ।