Prakash Adhikari March 20, 2020

नयाँदिल्ली (भारत),६ चैत्र(बीबीसी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गरेका छन्।

देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे।

प्रधानमन्त्री मोदीले मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ‘जनताले जनतामाथि आफैँ जनता-कर्फ्यु’ लगाउन अपील गरे।

त्यसको अनुभवले अन्य चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ।

पालना
आफ्नो सम्बोधनमा मोदीले भने, “म आज प्रत्येक देशवासीसँग एउटा अर्को समर्थन माग्दैछु। त्यो हो जनता कर्फ्यु।”

“जनता कर्फ्यु अर्थात् जनताका लागि जनताद्वारा आफैँमाथि लगाइएको कर्फ्यु। मार्च २२ तारिखको दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म सबै देशवासीले जनता-कर्फ्यु पालना गर्नुपर्ने छ।”

आफ्नो सम्बोधनमा मोदीले कोरोनाभाइरसको महामारीले विश्वभरि पूरै मानवजातिलाई नै सङ्कटमा पारिदिएको उल्लेख गरेका छन्।

एशियाली मुलुकहरूले दोस्रो लहरको कोरोनाभाइरस सङ्क्रमणको सामना गर्दै

कोरोनाभाइरसबारे भारतमा चलेका हल्लाको तथ्यजाँच

भारतीय नागरिकहरूले कोरोनाभाइरसको महामारीको डटेर सामना गरिरहेको बताउँदै उनले प्रत्येक नागरिक सहज र सतर्क रहन आवश्यक रहेकोमा जोड दिए।

आफूलाई देशवासीहरूले कहिल्यै निराश नबनाएको उल्लेख गर्दै मोदीले जनतासँग केही माग्न लागेको बताए।

“मलाई तपाईँहरूका आगामी केही हप्ता चाहियो आउने केही समय चाहियो,” उनले थपे।

अहिले विश्वका ठूल्ठूला तथा विकसित देशहरूले कोरोनाभाइरसको महामारी झेलिरहेको पृष्ठभूमिमा भारत त्यसबाट प्रभावित नहुने सोच्नु गलत हुने मोदीको भनाइ छ।

सङ्कल्प
अतः यो विश्वव्यापी महामारीको सामना गर्नका लागि दुई कुराको आवश्यकता छः पहिलो सङ्कल्प र दोस्रो संयम।

सबै देशवासीले नागरिकको हैसियतमा आफ्नो कर्तव्य पालना गर्ने तथा सरकारका निर्देशनको पालना गर्ने सङ्कल्प लिनुपर्ने उनले बताए।

“आज हामीले यो सङ्कल्प लिनुपर्ने हुन्छ कि हामी स्वयं सङ्क्रमित हुनबाट जोगिनेछौँ र अरूलाई पनि जोगाउनेछौँ।”

कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन र स्वस्थ रहनका लागि संयम अपनाउन अनिवार्य रहेको प्रधानमन्त्री मोदीको भनाइ छ।

“र, संयमको तरिका भिडदेखि टाढा बस्न तथा घरबाट निस्कनबाट बच्नु हो,” उनले थपे।

“यसकारण सबै देशवासीसँग मेरो आग्रह छ कि आउने केही हप्ता अत्यावश्यक नभई घरबाट ननिस्कौँ। सम्भव भएसम्म घरबाटै कामहरू गरौँ।”

भारतमा कोरोनाभाइरसबाट हालसम्म करिब १७६ जना सङ्क्रमित भएका छन्।

Share Now

Leave a comment.