Prakash Adhikari March 23, 2020

काठमाडौ, १० चैत। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुने गरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कने नपाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

उक्त निर्णय मङ्गलवार बिहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बीबीसीलाई बताउनुभयो ।


निर्णयहरु

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।


उहाँले भन्नुभयो, “कोभिड-१९ को रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन हामीले अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको एउटा वातावरण बनाउन अपील गर्ने निर्णय गरेका छौँ।”

समितिले उक्त अवधिमा औषधोपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कोही पनि घरबाट निस्कन नपाउने उल्लेख गरेको छ।

अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ। सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यवसायिक उडानहरू बन्द गर्ने निर्णय भएको छ।

स्वास्थ्य, भन्सार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, क्वारेन्टीन, फोहोरमैला व्यवस्थापन लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण सरकारी कर्मचारीलाई बिदा दिने निर्णय गरिएको पनि अधिकारीहरूले जनाएका छन्। अन्य कर्मचारीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी कार्यलय प्रमुखले बिदा दिने भनिएको छ।

औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिने जनाइएको छ। कलकारखानामा काम गर्ने श्रमिकहरूलाई बिदा दिन भनिएको छ।

‘लकडाउन’को समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाइएको छ। सरकारले औषधि र औषधिजन्य सामाग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने जनाएको छ।

आफ्नो आदेशको कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।

र पछिल्लो आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउनेलाई संक्रामक रोग ऐन २०२० अनुसार सजाय हुने सोमबारसाँझ सरकारले जारी गरेको सूचनामा उल्लेख छ।(बीबीसी)

 

Share Now

Leave a comment.