Prakash Adhikari January 20, 2018

काठमाडौं, ६ माघ । बलिउडका चर्चित नायक सलमान खानको नेतृत्वमा आगामी फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने ‘द ब्याङ टुर नेपाल’ कार्यक्रममा ५० हजार दर्शक उतार्ने दावी आयोजकले गरेका छन् ।

शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको पत्रकार सम्मेलनमा इभेन्ट म्यानेजर ओडीसी इन्टरटेनमेण्टका सीमान्त गुरुड.ले यसको जानकारी दिएका हुन् । सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले सलमान खाँनको द ब्याण्ड टुर नेपाल कार्यक्रम आयोजना गर्न लागेको हो  ।

सलमान खानको सुरक्षा, बस्ने ठाउँ र कन्सर्ट हुने स्थानको चाँजोपाँचो मिलाउन बलिउडस्टार सलमान खानका भाई सोहेल खान काठमाडौं आएका छन् ।

पत्रकार सम्मेलमा सोहेलले सलमान खान नेपाली फ्यानमाझ आफ्नो प्रस्तुति दिन आतुर रहेको बताए । सोहेल भन्छन्, ‘हामी त नेपाल आउन सधै इच्छुक थियौं । निम्तो आउनेबित्तिकै इन्ट्रेस्ट देखायौं । अध्ययन गर्‍यौं । सबै समूहको समयतालिका मिलाएर यसपालि आउन लागेका छौं । तर, चाँजोपाँजो मिलाउनै एक वर्ष लाग्यो ।’

उनले नेपालको सौन्दर्यको पनि चर्चा गरे । ‘नेपाल साह्रै सुन्दर देश । म करीब १४ वर्षको छँदा पहिलो पटक नेपाल आएको थिएँ । त्यो बेला रक्सौल हुँदै काठमाडौं आएको मलाई स्मरण छ । शैक्षिक भ्रमणका लागि काठमाडौं आउँदा यहाँको समाज र संस्कृति देखेर म निकै खुसी भएको थिएँ ‘, उनले भने ।

सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पलजस्ता कलाकार नेपाल आउने जानकारी सोहेलले दिएका छन् ।

उनले अक्षय कुमार, रणवीर कपुर र वरुण धवन पनि सुन्दर देश नेपालमा आफ्ना नेपाली फ्यानमाझ प्रस्तुति दिन इच्छुक भएको तर विभिन्न कारणले यसपटक सम्भव नभएको बताए ।

ओडीसीका सीमान्त गुरुङले भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको जानकारी दिन कन्सर्ट गर्न लागेका बताए ।

उनले कन्सर्टबाट संकलित रकम समाज सेवामा खर्चिने बताए ।

आयोजक संस्थाले ‘द ब्याङ टुर नेपाल’मा करीब ५० हजार दर्शक उतार्न सकिने विश्वास गरेको छ ।

Share Now

Leave a comment.