Prakash Adhikari April 10, 2020

 

लण्डन( संयुक्त अधिराज्य), २८ चैत्र । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा आशातित सुधार भएको छ । उहाँलाई सघन उपचार कक्षबाट बाहिर निकालेर वार्डमा सारिएको छ । उहाँ स्वास्थ्य स्थिति सामान्य  नभइञ्जेलसम्म अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहनुभएको छ।

‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई ‘बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उहाँलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाएको छ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताले ‘उहाँ एकदमै राम्रो मनस्थितिमा हुनुभएको ‘ बताउनुभएको छ ।

स्वास्थ्यमा सुधार

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उहाँलाई सघन उपचार कक्षमा सारिएको थियो।

उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।

उहाँको स्वास्थ्य स्थितिमा ‘क्रमिक सुधार आएको’ र उपचारका क्रममा आफूले पाएको ‘उत्कृष्ट सेवा’ का लागि उहाँले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताउनुभयो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु ‘शुभ समाचार’ भएको बताउनुभएको छ।

प्रशंसा
स्वस्थ्य मन्त्री म्याट ह्यानककले भन्नुभएको छ , ‘प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्।’

हालै निर्वाचित लेबर नेता सर किर स्टार्मरले पनि ‘शुभ समाचार’ को स्वागत गर्दै ट्वीटमा भन्नुभयो ,’शीघ्र स्वास्थ्यलाभको यो शुरूवात भएको आशा गर्छु।’

यसैबीच, ‘सेवा गर्नेका लागि ताली’ नामक तेस्रो कार्यक्रममा बेलायतभरि मानिसहरूले एनएचएसका कर्मचारी र महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने अन्य कामदारको प्रशंसा गरेका छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.