काठमाडौं, १५ बैशाख । पूर्व स्वास्थ्यमन्त्री एवम् स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरस संक्रमण लगायत गर्मी याममा देखा पर्ने मलेरिया,कालाज्वर, डेंगु, मेनिन्जाइटिस, टाइफाइड जस्ता रोगहरुको प्रकोपसंग जुध्न पर्याप्त औषधीको उत्पादन, आयात र वितरण गर्न संबन्धित क्षेत्रलाई सचेत गराएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आयोजनामा आइतबा पार्टीका पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञहरुबिच भएको बैठकका सहभागीहरुले यस्तो सल्लाह दिएका हुन् ।
बैठकमा कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यहरु बारे गहिरो समीक्षा भएको जनाइएको छ ।
बैठक पछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । उपचारमा कठिनाइसंगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औषधी उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ ।’
बैठकले कैयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नहुँदा त्यसले एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने र अर्कोतर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको देखिएकोले क्वारेन्टाइनहरुको स्तरीकरण र उचित ब्यवस्थापनमा ध्यान दिन पनि सरकारको ध्यानाकृष्ट गराएको थियो ।
बैठकले नेपालले समयमा नै अपनाएको लकडाउनले कोरोनासंग जुध्न वातावरण निर्माण गरेकोमा सन्तुष्टि प्रकट गर्दै कोरोना सक्रमण रोकथाम र उपचारसहित अन्य नियमित स्वास्थ्य सेवा प्रदानमा भने सरकार अयोग्य र सुस्त देखिएको निष्कर्ष निकालेको थियो ।
बैठकले कोरोनाभाइरसको संक्रमण परीक्षण समुदाय स्तरसम्म पुर्याउनु पर्ने तथा विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको र्यापिड टेस्ट रोकेर पर्छ र पिसिआर कै क्षमता र दायरा बढाउन पनि माग गरेको छ ।
बैठकले आफ्नो जीवन नै जोखिममा राखेर महामारीबाट आम नेपालीलाई जोगाउन नियमित सेवामा रहेका स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने ,आक्रमण गर्ने जस्ता कार्यलाई गम्भीरतापूर्वक लिंदै यस्ता घट्नाको पुनरावृत्ति हुन सरकारलाई सचेत गराउन आवश्यक भएको ठहर समेत गरेको थियो ।
अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग गर्दै बढ्दो रोग र बिरामीको चापलाई व्यवस्थापन गर्न थप जनशक्ति र उपकरणहरुको उपलब्ध गराउन आवश्यक भएको पनि विज्ञहरुले बताएका थिए ।
पर्याप्त पीपीई लगायतका सामग्रीको अभावमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक सामानहरु पुर्याउन पनि बैठकले सरकारसंग माग गरेको छ ।
बैठकको शुरूवातमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहनु भएका स्वास्थकर्मि र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने धारणा राख्नु भएको थियो ।