Prakash Adhikari April 27, 2020

काठमाडौं, १५ बैशाख । खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले आम नागरिकलाई स्वस्थ राख्न राज्यले खानेपानी र सरसफाईको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजनामा आइतबार राजधानीमा सम्पन्न जुम भिडियो कन्फरेन्सका सहभागीहरुले सो आवश्यकता औल्याएका हुन् ।

‘संसारमा ८० प्रतिशत रोगहरु खानेपानी र सरसफाईका कारण उत्पन्न हुन्छ भन्ने मान्यता छ’, कार्यक्रममा सहभागी काठमाडौं मेडिकल कलेजको सामुुदायिक औषधोपचार विभागका प्रमुख डा. सुनिलकुमार जोशीले बताउनुभयो, ‘यो क्षेत्रमा सुधार आउनासाथ जनस्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । यसलाई विशेष प्राथमिकतामा राख्न सरकारसंग अनुरोध गर्नैपर्छ ।’

भिडियो कन्फरेन्सकी अर्की सहभागी डा. इन्दिरा पराजुलीले आम नागरिकलाई स्वस्थ राख्न खानेपानी तथा सरसफाई क्षेत्रको महत्वपूर्ण योगदान देखिएकोले यो क्षेत्रमा आवश्यक स्रोत र साधन उपलब्ध गराउन सरकारलाई घच्घच्याउन पर्ने बताउनुभयो ।

यस क्षेत्रका विज्ञहरुले खानेपानी तथा सरसफाईको क्षेत्रमा ३ प्रतिशतभन्दा कम बजेट छुट््याइने गरेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

कन्फरेन्सका अर्का सहभागी दीपक ज्ञवालीले हालसम्मको अवस्था हेर्दा नेपालमा कोरोनाभाइरसको संक्रमण भयावह हुने नदेखिएको तर आम नागरिकमा खानेपानी र सरसफाई बारेमा पर्याप्त चेतना अभिबृद्धि गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘पटकपटक हात धुने भनिएको छ तर सीमान्तकृत अवस्थामा रहेका सुकुम्बासी,दलित,मजदूर,न्यूनआय वर्ग र पहाडका कतिपय स्थानमा खानेपानीको चर्को समस्या छ’ , उहाँले भन्नुभयो,’ती वर्ग र समुदायमा पर्याप्त पानी पुर्याउन आवश्यक स्रोत र साधनको बन्दोबस्त गर्नुपर्छ ।’

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले कोरोना भाइरसको संक्रमणबाट आम नेपालीलाई जोगाउन हातधुने र सरसफाई कायम गर्ने सन्देश दिंदै यस क्षेत्रमा कार्यरत नीति निर्माता, विज्ञहरु, अनुसन्धानकर्ता र अभियान्ताहरुलाई एकै ठाँउमा ल्याएर समस्या केलाउदै समाधान खोज्ने उद्देश्यले गत अप्रिल ११ देखि यस्तो भिडियो कन्फरेन्सको आयोजना थालेको थियो ।

स्मार्ट वासका अध्यक्ष ई.रामदीप साहका अनुसार हालसम्म आठ पटक भिडियो कन्फरेन्स सम्पन्न भएका छन् ।

यी कन्फरेन्समा खानेपानी र सरसफाई तथा कोरोना भाइरस संक्रमणका मूल विषयमा केन्द्रित रही अनुसन्धान तथा विश्लेषण पद्धति, कोरोना महामारीमा ओझेलमा परेको पानीको पक्ष, महामारी नियन्त्रणमा प्राज्ञिक संस्थाहरुको भूमिका, कोरोना नियन्त्रणपछि पानी नेतृत्व, कोरोना संक्रमण र प्रविधिको प्रबर्धन, कोरोना भाइरसको संक्रमणमा खानेपानी तथा सरसफाई क्षेत्रका व्यवासायीको भूमिका, सुरक्षित र स्वच्छ वातावरण र निःसंक्रमण,सेवा प्रदायक र कार्य थालनी र विश्व स्वास्थ्य संगठनका मार्गनिर्देशनका बारेमा छलफल भएका थिए ।

यी छलफलहरुमा खानेपानी तथा सरसफाई क्षेत्रलाई राहत तथा उद्धार प्याकेजमा पनि समेटिनु पर्ने, मेलम्ची जस्ता ठूला आयोजनाहरु निकट भविष्यमा नै सञ्चालनमा आउने भएकोले खानेपानीलाई शुद्ध राख्न उपयोग गरिने क्लोरिनको खपत बढ्ने भएकोले स्वदेशमा नै क्लोरिन उत्पादन उद्योग खोल्नु पर्ने, विज्ञान र प्रविधिको विकास र विस्तारको लागि लगानी बढाउनुपर्ने, खानेपानीकोे क्षेत्रमा स्मार्ट प्रविधि र व्यवस्थापन अपनाउनु पर्ने, खानेपानी र सरसफाई क्षेत्रमा सरकारको लगानी वा बजेट बढाउनु पर्ने सुझाव आएका थिए ।

यी कन्फरेन्सका सहभागीहरुले खानेपानीको गुणस्तर कायम गर्न र अनुसन्धानलाई निरन्तरता दिन सबै खानेपानी प्रणालीमा खानेपानी सुरक्षण योजना अनिवार्य गरिनुपर्ने, खानेपानी र पानी उपयोगको सम्बन्धमा क्षेत्रगतभन्दा एकीकृत शैली अपनाउनु पर्ने तथा एक घर एक धारा अभियानलाई प्राथमिकतासाथ सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्मार्ट वास सोलुसनका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले यी कन्फरेन्सहरुमार्फत असाध्यै सामयिक सुझावहरु प्राप्त भएको बताउनुभएको छ ।

उहाँले पटक पटक हातधुन प्रोत्साहित गरिएकोले खानेपानीको आपूर्तिको समय र परिणाम पनि बढाउन नेपाल सरकार र संबन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।

कन्फरेन्सका सहभागीहरुले कोरोना भाइरससहित सबै रोगको संक्रमण न्यून गर्न अस्पतालबाट निसृत हुने औषधीजन्य र जोखिमयुक्त फोहरहरुलाई अलग्गै संकलन र परिवहन गरी व्यवस्थापन गर्न,पानीको स्रोत व्यवस्थापन र पुनर्भरणका परम्परागत पद्धतिको संरक्षण गर्दै पानीको संरक्षण र आपूर्तिमा नयाँ पद्धतिको अबलम्बन गर्न, झाडाबान्ता,हैजा जस्ता संक्रामक रोगहरुकोबारेमा पनि अध्ययन गर्न, यी रोगको रोकथामको पूर्व तयारी गर्न पनि सुझाव दिएका थिए ।

स्मार्ट वास सोलुसन्सको कार्यक्रमका सहभागीहरुले अस्पताल, क्वारेन्टाइन र आइसोलेस वार्डहरुमा आपूर्ति हुने पानी र पानी भण्डारण गर्ने ट्यांकीहरुको सरसफाईको अवस्था, अधिक व्यक्तिले प्रयोग गर्ने शौचालय र सरसफाईको अवस्थामा, कोरोना भाइरससहित संक्रामक रोगका विरामीहरुको उपचारमा समर्पित हुने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीको उपलब्धतामा ध्यान दिन र यी सामग्रीको सही उपयोग गर्न सिकाउन पनि सुझाव दिएका थिए ।

स्मार्ट वासले आयोजना गरेको कार्यक्रमका सहभागी तथा विज्ञहरुले खानेपानी र सरसफाईको क्षेत्रमा हाल कायम मार्गनिर्देशिका र व्यवस्थापन निर्देशिका तथा मापदण्डहरुलाई पुनरावलोकन गरी कोरोना भाइरसको विषयलाई समेटेर संशोधन गर्न पनि आग्रह गनुभएको थियो ।

सहभागीहरुले विपन्न परिवारलाई पानीको महसुलमा छुट दिन र खानेपानीको आपूर्तिमा संलग्न निजी तथा सामुदायिक संस्थाहरुले लिएको ऋणको व्याजमा सहुलियत दिन, उपयुक्त स्थानहरुमा हात हुने तथा सरसफाई केन्द्र स्थापना गर्न,पर्याप्त अल्कोहलयुक्त(६० देखि ७० प्रतिशत अल्कोहल रहेको) स्यानिटाइजर उत्पादन र उपयोग हुने व्यवस्था मिलाउन पनि सुझाव दिएका थिए ।

Share Now

Leave a comment.