Prakash Adhikari January 21, 2018

काठमाडौं, ७ माघ(रासस) । विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पोत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरेका थिए ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालीम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदाता लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

पशुपंछी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ ।

त्यसैगरी भूकम्पबाट प्रभावित ९६ हजार निजी घर पुनःनिर्माणलाई भूकम्पोत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

कार्यक्रममा देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार प्रकट गरेका थिए ।

Share Now

Leave a comment.