Prakash Adhikari January 21, 2018

बालकोट(भक्तपुर), ७ माघ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकमा बाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए बमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनको स्थितिमा पुर्याउन सो कार्यदल गरिएको हो ।

कार्यदलमा एमालेबाट भीम रावल, डा। विजय पौडेल, युवराज खतिवडा र माओवादी केन्द्रबाट वर्षामान पुन, गिरिराजमणि पोखरेल र डा मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।

आइतबारको बैठकले प्रदेश सरकारको गठन र राष्ट्रिय सभाको निर्वाचनबारे रिपोर्ट पेश गर्न बनेको संयुक्त कार्यदलको प्रस्तावलाई अनुमोदन गरेको छ ।

जसअनुसार राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट २९ जना र माओवादी केन्द्रका तर्फबाट १४ जना उम्मेद्वार रहनेछन् ।

संयोजन समितिको बैठकले प्रदेश सरकार, मूख्य मन्त्री, सभामूख लगायतका पदहरुको विषयमा रिपोर्ट पेश गर्न कार्यदललाई थप समय प्रदान गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनको मिति नजिकिएका कारण उक्त विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका बारेमा छलफल गर्दै जान नेताहरु सहमत भएका हुन् ।

शीर्ष नेताहरुले छिटो र व्यवस्थित रिपोर्ट पेश गरेकोमा कार्यदललाई धन्यवाद दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका बारेमा भएको प्रगतिबारे बैठकलाई बिफ्रिङ गरेका थिए ।
अध्यक्षद्वयले पार्टी एकताबारे आफूहरुबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक–दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न बैठकमा प्रस्ताव गरेका थिए ।

आइतबारको बैठकले एक–दुई दिन थप छलफल गरेर कार्यदल गठन गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी एकता संयोजन समितिका सदस्य र संयुक्त कार्यदलका सदस्यहरु सहभागी थिए ।

Share Now

Leave a comment.