Prakash Adhikari January 22, 2018

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्तारोहण अब निकै सहज अवस्थामा पुगेको छ ।

उनको सत्तारोहणको लागि देखिएका आन्तरिक र बाह्य दुवै अवरोध विस्तारै निस्तेज हुँदै गएका छन् । एमाले र माओवादी एकतामा खिचोला निकालेर ओलीका विरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उभ्याउने प्रयास पनि सार्थक हुन सकेन भने नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको भारतीय संस्थापनको सदभाव पनि नेपाली जनादेश अनुरुप एमाले अध्यक्ष केपी ओलीलाई प्राप्त भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाको अवधिमा आइतबार दोस्रो पटक टेलिफोन गरी भावि प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका छन् ।

गत पुस ६ मा टेलिफोन संवादमा बधाई  र भारत भ्रमण निम्तो दिएको ठीक एक महिनापछि मोदीले आइतबार टेलिफोन गरी पुनः शुभकामना र भारत भ्रमणको निम्तो दिएका हुन् ।

पुसमा मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग फोन–संवाद गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र आफू निर्वाचित भएकोमा तीनै जना नेतालाई बधाई दिएका थिए ।

आइतबार करिब ७ मिनट भएको दुई नेताबीचको संवादमा एमाले अध्यक्ष ओलीले भारत भ्रमणको निम्तोलाई स्वीकार्दै मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणको निम्तो दिएका छन् । सार्क सम्मेलनका समयमा जनकपुर,मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने मोदीको चाहाना विभिन्न कारणले पूरा हुन पाएको थिएन ।

वार्तामा मोदीले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतीक्षारत रहेको पनि जनाएका छन् ।

ओलीले पनि अब छिट्टै सरकार बन्ने उल्लेख गर्दै सरकार बनेपछि पहिलो विदेशी विशिष्ट पाहुनाका रूपमा मोदीलाई स्वागत गर्न आतुर रहेको बताएका थिए ।

नयाँ सरकार गठनलगत्तै नेपाल बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारीमा छ ।सम्मेलन हुने भए त्यसमा सहभागी हुन मोदी आउने छन् ।

आइतबारको संवादमा मोदीले अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्नेमा भारत विश्वस्त रहेको बताएका थिए ।

शान्त कुटनीतिक पहल पनि

नेपालको राजनीतिक स्थायित्व, आर्थिक र सामाजिक विकासमा भारतसंगको सम्बन्ध र कुटनीतिक सन्तुलन महत्वपूर्ण रहेको ज्ञान पाएका एमाले अध्यक्ष ओलीले भारतको एमालेप्रतिको दृष्टिकोण बुझ्न र त्यसलाई अनुकूल बनाउन डा.राजन भट्टराईलाई दिल्ली पठाएका थिए ।

त्यसको केही दिनपछि नै मोदीले भावी सरकारप्रमुखको रुपमा ओलीलाई शुभकामना भारतभ्रमणको निम्तो दिनु र नेपालले राजनीतिक स्थायित्व पाउने विश्वास व्यक्त गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

Share Now

Leave a comment.