काठमाडौं, १७ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(शनिबार) दिउँसो १ : ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरि संविधानको अनुसूचिमा रहेको नेपालको नक्सा सो अनुरुप संशोधन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेपछि बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले यसको निर्णय केन्द्रीय समितिबाट गर्ने निर्णय गरेको थियो ।
सुगौली सन्धीमा स्पष्ट किटानीसाथ उल्लेख भएको काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभागहरु नेपालको जनाउदै नेपाली कांग्रेसले यी भूभाग समेटिएको नक्सा जारी गर्न सरकारलाई असोजकार्तिकमा नै अनुरोध गरेको थियो ।
संविधानको निशाना छापमा नक्सा राख्दा त्यस्तो क्षेत्रको नापी हुन पर्ने या नपर्ने, क्षेत्रफल किटान हुन पर्ने वा नपर्ने र सीमा स्तम्भहरु राख्न पर्ने वा नपर्ने र त्यस्तो भूमिमा विदेशी फौजको उपस्थिति भए त्यो हटाउन राजनीतिक र कुटनीतिक पहल हुनुपर्ने कि नपर्ने,समेटिएको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक दायरामा ल्याउन प्रशासनिक निकायको सेवा पुर्याउन पर्ने कि नपर्ने, नेपालमा नक्सामा समेटिएका भूमिका बासिन्दालाई नागरिकता, राज्यका तर्फबाट प्रदान गरिने खानेपानी,बिजुली,सडक,शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार पुर्याउन र उनीहरुको जीविकोपार्जनका बारेमा सरकारले हेर्नुपर्ने कि नपर्ने भन्ने विषय पनि यससंगै उठेका छन् ।
सरकारले राजनीतिक र कुटनीतिक माध्यमबाट नेपाली सीमामा बसेका भारतीय फौजलाई हटाएपछि मात्र संविधानमा नक्सा संशोधन गर्नु उचित हुने तर्क पनि उठेको छ । पहिले सबैकाम सकेपछि गरिने वार्ता फैसला सुनाएपछि मुद्दाको सुनुवाई सुरु गरेसरह हुने भएकोले कम्तिमा एक चरण भारतसंग वार्ताको प्रयास गर्न सरकारलाई दबाव दिनुपर्ने मत पनि कांग्रेसभित्र प्रबल रहेको छ ।



















