काठमाडौं, ३२ जेठ । नेपालको निशान छापमा नयाँ नक्सा राख्ने सम्बन्धमा संसदमा दर्ता भएको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा दुईतिहाई भन्दाबढी मतले पारित भएको भोलिपल्ट संविधान संशोधनसम्बन्धी उक्त विधेयक आइतवार राष्ट्रियसभामा पेश भएको छ।
शनिवार प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको सूचनासहित आइतवार माथिल्लो सदनमा पेश भएको विधेयकमा छलफल समेत भएको छ ।
सबै दलका सांसदहरूले विधेयकको समर्थनमा बोल्नुभएको राष्ट्रिय सभाका विपक्षी दलका नेता राधेश्याम अधिकारीले बताउनुभएको छ ।
शनिवार प्रतिनिधिसभामा उपस्थित २ सय ५८ सांसद मध्ये सबैले विधेयकको पक्षमा मत दिएका थिए भने विपक्षमा कुनै मत खसेको थिएन।
उक्त विधेयकमाथि आइतवार नै सैद्धान्तिक छलफल सम्पन्न भएर संशोधनका लागि ७२ घण्टाको समय दिइएको पनि सांसद अधिकारीले बताउनुभयो।
७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले पनि उक्त विधेयकमा मत दिनुपर्नेछ।
नयाँ नक्सा अध्यावधिकसम्बन्धी संविधान संशोधन विधेयक पारित गर्न प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि दुई तिहाइ बहुमत आवश्यक पर्छ।
राष्ट्रिय सभामा सत्तारुढ नेकपाको मात्रै दुई तिहाइ बहुमत रहेकोले प्रतिनिधि सभामा जस्तै राष्ट्रियबाट पनि विधेयक पारित हुने ठानिएको छ।
त्यसपछि संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ।
त्यसपछिमात्रै संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ।
सामाजिक सञ्जालमा कसले के भने ?
प्रतिनिधि सभाबाट नेपालको नयाँ नक्सा अङ्कित निशान छापसम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि अब नेपालले भारतसँग वार्ता गर्नुपर्ने भन्दै पूर्व परराष्ट्रमन्त्रीलगायत विभिन्न दलका नेताहरूले सामाजिक सञ्जालमा बताएका छन्।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, नेपालको नक्सा अङ्कित निशान छापसम्बन्धी संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित हुनु महत्त्वपूर्ण उपलब्धि हो प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रतिनिधि सभाका सांसदहरूलाई बधाई। भारतसँग सार्थक वार्ता अघि बढाइ अतिक्रमित नेपाली भूमि फिर्ता लिने जिम्मेवारी अब सरकारको काँधमा छ
नेपालको नक्सा अंकित निशान छाप सम्बन्धि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु महत्वपूर्ण उपलब्धि हो प्रम @kpsharmaoli लगायत प्रतिनिधि सभाका सांसदहरुलाई बधाई।
भारतसंग सार्थक वार्ता अघि बढाई अतिक्रमित नेपाली भूमी फिर्ता लिने जिम्मेवारी अब सरकारको कांधमा छ— Kamal Thapa (@KTnepal) June 13, 2020
ित्यस्तै, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि विधेयक पारित भएपछि ट्वीट गर्नुभएको छ।
उहाँले राजनीतिले कूटनीतिलाई ओझेल पार्न नहुने भन्दै भौगोलिक अखण्डता पुर्नस्थापित गर्ने प्रयास नयाँ चरणामा प्रवेश गरेको बताउनुभएको छ।
" खण्डित भएको नेपालको भौगोलिक अखण्डता पुनर्स्थापित गर्ने प्रयास नयाँ चरणमा प्रवेश गरेकोछ । अब कूटनीतिलाई राजनीतिले ओझेलमा पार्न हुदैन । राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रारम्भको नभएर परिणामको मात्रै गणना हुन्छ " मेरो भनाइ, नागरिक दैनिक ३२ जेष्ट २०७७
— Ramesh Nath Pandey (@rameshnathpande) June 14, 2020
My quote in The Hindu 14 June 2020 pic.twitter.com/lCictlJC9P
— Ramesh Nath Pandey (@rameshnathpande) June 14, 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि ुप्रतिनिधि सभाको दुईवटा सन्देशु भन्दै ट्वीट गर्नुभएको छ।
आजको संसदका दुई सन्देश:
१. नक्सा हाम्रो संविधानको अङ्ग बनेको छ,अब भूमिमाथिको स्वामित्व लिनुपर्छ।
२.नेपालका सबै जातजाति,भाषा र समुदायको हक अधिकार र आत्मसम्मान नै हाम्रो राष्ट्रिय एकता सबैभन्दा ठुलो आधार हो।यसरी बनेको एकताको बलमा नै हामीले हाम्रो भूमिका पुरा गर्न सक्छौँ।
— Gagan Thapa (@thapagk) June 13, 2020
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधान संशोधन विधेयक पारित गर्न नेताहरू एक ढिक्का भएकोमा प्रशंसा गर्दै अब कूटनीतिमार्फत् भूमि फिर्ता ल्याएको हेर्न पाइयोस् भन्ने लेख्नु भएको छ ।
जननी जन्मभूमिश्य स्वर्गदपि गरीयसी!
यसैगरी सुशासन, विकास र संवृद्धिको विषयमा देश एक ढिक्का भएको, भ्रष्टाचार रोकिएको र नेताले आफूभन्दा देशलाई सदा माथि राखेको देख्न पाइयोस्। अब उत्ताउलो होइन संयमित तर दृढ कुटनीतिमार्फत भूमी पनि फिर्ता लेराएको हेर्न पाइयोस्। नेपालको जय होस्! pic.twitter.com/f1YnORqIDP
— Rabindra Mishra (@RabindraMishra) June 13, 2020
सत्तारुढ दलकै नेतृ रामकुमारी झाँक्रीले शनिवारको दिन राष्ट्रिय एकता कायम भएको दिन भनेर ट्वीट गर्नुभएको छ।
झाँक्रीले ट्वीट लेख्नु भएको छ , ‘आजअभूतपूर्व राष्ट्रिय एकता कायम भएको दिन हो।ईतिहाँसमा यस्तो कहिल्यै थिएन र हामी ठगिएका थियौ।अब त्यस्तो हुनेछैन।कसैको पनि देशभक्ति र राष्ट्रियताको सन्दर्भमा संका रहेन हामी एक ठाउँमा छौं,नेपाली जनता,नेपालका सबै राजनितीक दलहरू। सबैमा हार्दिक बधाई१ बर्तमान सरकारलाई हार्दिक धन्यवाद।(बीबीसी)


















