काठमाडौं, ७ आषाढ । आज दुर्लभ बलय(पूरै ढाकिने)सूर्य ग्रहण लाग्दैछ । तरनेपालबाट भने स्थानअनुसार खण्डग्रास सूर्य ग्रहण लागेको देखिने छ । नेपालले हालै नयाँ नक्सामा समेटेको कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट भने सूर्यलाई ९८ प्रतिशत ढाकिएको ग्रहण देखिने ज्योतिषी र वैज्ञानिकहरुले बताएका छन्।
वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौँ उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्यलाई ग्रहणले ढाकेको देखिने छ भने लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सूर्यलाई ९८ प्रतिशतसम्म ढाकिएको देखिने छ। यो नै नेपाली भूभागबाट सूर्यको सबैभन्दा बढी भाग ग्रहणले ढाकेको देखिने क्षेत्र हो ।
भारतको देहरादून, कुरुक्षेत्र, पाकिस्तानको दक्षिण भाग, चीनको तिब्बबत, ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान आदि ठाउँबाट बलय सूर्यग्रहण देखिने छ।
आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।
उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ ।
ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ ।
यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्धग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।
आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ ।
उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेको खण्डग्रस सूर्यग्रहणभन्दा ठीक विपरीत तरिकाबाट लाग्ने भएकाले यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने ज्योतिषीहरुको दाबी छ ।
ग्रहण र सामाजिक धार्मिक मान्यता
सौर्य मण्डलका ग्रहहरुले आआफ्नो कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । पृथ्वीको उपग्रह मानिएको चन्द्रमाले पनि पृथ्वीको परिक्रमा गर्दछ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा सूर्य, चन्द्र र पृथ्वी एकै रेखामा परेर रहेको बेला सूर्यको प्रकाश चन्द्रमाले छेकेर पृथ्वीमा छायाँ पर्दछ । यो छाया परेको भागमा रहेका मानिसहरुले सूर्यको भाग ढाकिएको देख्छन् । यसैलाई सूर्य ग्रहण भनिन्छ ।

यसरी नै सूर्य,पृथ्वी र चन्द्रमा एकै रेखामा परेर पृथ्वीको छाया क्षेत्रमा चन्द्रमा परेको बेलामा चन्द्र ग्रहण लाग्दछ । सूर्य ग्रहण औशी र चन्द्रग्रहण पूर्णिमा तिथिमा मात्र लाग्दछ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ। आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।
ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो।
ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ। नदी, तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्ध हुने गर्दछन् ।
तान्त्रिकहरु मन्त्र सिद्ध गराउनका निमित्त ग्रहण लागेको समयलाई उपयुक्त मान्छन् । यसैले ग्रहणका समयमा मन्त्रको साधना समेत गर्दछन् ।
संसारभर ग्रहणसम्बन्धी अन्धविश्वास रहेको देखिन्छ।
रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका बेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ।
साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो। खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो। वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन्। साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन्। नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ ।
वैज्ञानिक भन्छन, सुरक्षित तरिकाले हेर,ज्योतिषी भन्छन् राशी अनुसार मात्रै
यस खगोलीय घट्नाका सम्बन्धमा ज्योतिषी रवैज्ञानिकहरुका कतिपय कुरा मिल्छन भने कतिपय बाझिएका छन् । वैज्ञानिकहरु यस्ता दुर्लभ खगोलीय घट्नालाई सावधानी अपनाएर हेर्न र यसका विविध पक्षमा अध्ययन अनुसन्धान गर्न उपयुक्त मान्दछन भने ज्योतिषीहरु यसलाई राशीफल अनुसार शुभाशुभ हेरेरमात्र हेर्न पर्दछ भन्ने मान्यता राख्दछन् ।
ज्योतिषीहरुका अनुसार मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाव पर्ने छ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशि हरुका लागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ । मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने छ ।यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार ओटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हानिकारक नहुने ज्योतिषीले दाबी गरेका छन् ।

पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका भएकाहरुले सूर्य ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशि हुनेका लागि लाभ र कन्या तथा मकर राशि भएकाहरुका लागि सुख प्राप्ति हुने बताइएको छ ।
वैज्ञानिकहरुले भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउनुभएको छ।
असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ।
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ।यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ।
धार्मिक मान्यता अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।
यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ।
ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ ।
खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ ।
यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ ।
ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ । गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दुर्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ ओटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो ।
यो खण्डग्रास सूर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ ।
ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।’

पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउँदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि यसलाई स्वीकारेको छ । एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर ।
ग्रहणको समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हुने ज्योतिषशास्त्रीहरु बताउँछन् ।
ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नुपर्ने बताइन्छ ।



















