नेत्र केसी / बीबीसी न्यूज नेपाली
काठमाडौं, ११ आषाढ । नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको ठीक ५ महिनामा कुल सङ्क्रमित सङ्ख्या १० हजार नाघेको छ।
नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण गत वर्ष माघ ९ गते देखिएको थियो। चीनको वुहानबाट फर्केका पुरुषमा देखिएको सङ्क्रमणको दुई महिनापछि चैत्र १० गते दोस्रो सङ्क्रमण देखा परेको थियो।
अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि भएका १० हजारभन्दा बढी मानिस को हुन् ? कहाँका हुन् ? र कुन उमेर समूहमा हुन्् ?
बीबीसी न्यूज नेपालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई केलाएको छ :
प्रदेश र जिल्ला
नेपालमा सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं २ मा रहेका छन्। त्यहाँ ३ हजार २ सय ४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
त्यसपछि प्रदेश नं ५ मा २ हजार ८ सय ९ जनामा सङ्क्रमण भएको छ।
त्यहाँ सङ्क्रमण धेरै हुनुका कारण भारतबाट फर्किएका धेरैमा सङ्क्रमण देखिनु रहेको बताइन्छ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपालीहरू छन्।
वाग्मती प्रदेशमा सबैभन्दा कम ३ सय २७ सङ्क्रमित रहेका छन्।
वाग्मती प्रदेशमा सबैभन्दा कम ३२७ सङ्क्रमित रहेका छन्।
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
जिल्लाका हिसाबले २ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्ला १४ वटा छन्।
सबैभन्दा बढी सङ्क्रमण देखिएका जिल्लाहरू
२०० भन्दा बढी सङ्क्रमित भएका १४ जिल्ला
प्रदेश जिल्ला सङ्क्रमण निको उपचाररत मृत्यु
प्रदेश २ रौतहट १,१५९ २४४ ९१५ ०
कर्णाली दैलेख ७४८ ३१४ ४३२ २
प्रदेश ५ कपिलवस्तु ७०५ ४० ६६४ १
प्रदेश २ सर्लाही ६१६ १२९ ४८७ ०
प्रदेश २ महोत्तरी ५३९ २६ ५१३ ०
प्रदेश ५ बाँके ३४४ २९७ ४५ २
सुदूरपश्चिम कैलाली ३२८ ३२ २९३ ३
कर्णाली सुर्खेत ३२३ ४० २८२ १
प्रदेश ५ दाङ ३१५ ४९ २६६ ०
प्रदेश २ धनुषा ३०७ १३६ १७१ ०
प्रदेश ५ रुपन्देही २७३ ५६ २१७ ०
प्रदेश ५ अर्खाखाँची २५० २ २४७ १
प्रदेश ५ गुल्मी २३६ ३ २३० ३
प्रदेश ५ पाल्पा २३१ १ २२९ १
सुदूरपश्चिम डडेलधुरा २०४ ८ १९६ ०
विसं २०७७ असार ९ गतेसम्मको तथ्याङ्क
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
उमेर समूह
उमेरगत हिसाबले सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्षका रहेका छन्। सङ्क्रमितमध्ये सयकडा ३८ जना यो उमेर समूहको रहेका छन्।
नेपालमा सङ्क्रमण भएकामध्ये ५० वर्षभन्दा बढी उमेरका निकै कम रहेका छन्। कुल सङ्क्रमितको ४.२४ प्रतिशत अर्थात प्रति ४ सय सङ्क्रमितमा १७ जना सो उमेर समूहका हुन्।
जनस्वास्थ्यविज्ञ डा. शरद वन्तका अनुसार नेपालमा युवाहरूको जनसङ्ख्या धेरै रहेको र उनीहरू श्रमका लागि भारत लगायतका देशहरूमा गएका कारण युवाहरू धेरै सङ्क्रमित भएका हुन्।

महिला कि पुरुष ?
डा. पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपाली श्रमिकहरू छन्।
त्यसमध्ये धेरै भारतबाट आएका व्यक्तिहरू छन्।
त्यस्तै सङ्क्रमित हुनेहरूमा ९२ प्रतिशत पुरुष छन्। मृत्यु हुनेहरूमा भने २० प्रतिशत महिला रहेका छन्।
‘उहाँहरू श्रमका लागि विदेश जानुभएको छ र फर्कँदा सङ्क्रमित भएर नेपाल आएको देखिन्छ’, ले डा. पाण्डेले भन्नुभयो ।

सङ्क्रमितको अवस्था
सङ्क्रमितमध्ये करिब ९८ प्रतिशतमा लक्षण नदेखिएको डा पाण्डेले बताउनुभयो।
अहिलेसम्म २ हजार २ सय २४ जना निको भएर अस्पतालबाट फर्किसकेका छन्। त्यो भनेको सङ्क्रमितको सयकडा २२ जना हुन्।
निको भएकामध्ये १ सय ८९ महिला रहेका छन्।
सङ्क्रमितमध्ये ७ हजार ८ सय ५१ जनाको चिकित्सकीय निगरानीमा एक्ल्याएर उपचार भइरहेको छ।
कसको मृत्यु भयो ?
सङ्क्रमित १० हजारमध्ये २४ जनाको मृत्यु भएको छ। ती १६ जिल्लाका १९ पुरुष र पाँच महिला हुन्।
कैलाली र गुल्मीका ३(३ जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका २(२ जनाको मृत्यु भएको छ।
त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा , बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका १(१ जनाको मृत्यु भएको छ।
उमेरका हिसाबले सबैभन्दा बढी ४१ देखि ५० वर्षका छ जना र ५१ देखि ६० वर्षका पाँच जनाको मृत्यु भएको छ।

दुई र पाँच वर्षका बालकहरूदेखि ७६ वर्षीया वृद्धसम्मको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये १४ जनामा पहिलेदेखि नै कुनै रोग रहेको डा पाण्डेले बताएका छन्।
मङ्गलबारसम्मको आँकडामा ७ जना सघन उपचार कक्षमा रहेको अनि २ जनालाई भेन्टिलेटरमा राखिएको उनले बताए।


















