Prakash Adhikari July 8, 2020

 

काठमाडौं, २४ आषाढ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा शीर्ष नेतृत्व तहमा देखिएको विवाद नचर्काउन दुवै पक्षको सहमति भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा दिनहुँ विभिन्न जिल्लामा प्रदर्शनहरू हुँदै आएका छन्।

बुधबारमात्र काठमाडौंमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीको समर्थनमा मौखिक नारा लगाउनुको अतिरिक्त फ्लेक्स ब्यानर र प्ले कार्डहरु प्रदर्शन गर्ने गरेका छन् ।

प्रधानमन्त्री ओली र सरकारका विरुद्धमा हुने सडक प्रदर्शनमा प्रहरीले शक्ति प्रर्दन गर्ने गरेको भएपनि उहाँको समर्थनमा हुने जुलुस र र्यालीमा हस्तक्षेप गर्ने आँट प्रहरी र प्रशासनले गर्न सकेको छैन् ।

कोरोनाभाइरस महामारीबीच मानिसहरूलाई एकअर्कासँग दूरी कायम राख्न तथा अनिवार्य रूपमा मास्क लगाउन चिकित्सकहरूले बारम्बार सम्झाइरहेको अवस्थामा त्यस्ता प्रदर्शन भइरहेका हुन्।

जुलुस

हालसम्म भएका प्रदर्शनलाई हेर्दा सहभागीले मास्क लगाएको देखिए पनि उनीहरूबीच दूरी कायम नगरिएको देखिएको छ।

गत बिहीवार काठमाण्डूको माइतीघर मण्डलामा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरिएको थियो भने त्यसको भोलिपल्ट पोखरा,बुटबल, भरतपुर र भक्तपुरमा युवाहरूले प्रदर्शन गरेका थिए।

भक्तपुर प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने नेकपाका युवा नेता महेश बस्नेतको क्षेत्र हो।

कोरोनाभाइरस सङ्क्रमणबाट नराम्ररी प्रभावित प्रदेश नं २ का पर्सा र रौतहट जिल्लामा पनि प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शनहरू भएका छन्।

शनिवार पर्साको वीरगन्जमा युवाहरूले प्रदर्शन गरेका थिए भने सोमवार रौतहटमा प्रदर्शन भयो।

कैलालीको लम्कीमा मङ्गलवार प्रधानमन्त्री ओली समर्थक र विरोधी पक्षबीच झडप नै हुन पुग्यो।

स्थानीय प्रशासनका अनुसार कुनै पनि पक्षले कार्यक्रमका लागि अनुमति लिएका थिएनन्।

जुलुस
सरकारको समर्थनमा त्यस्ता जुलुसहरू निकाल्ने गरिएकाले पनि स्थानीय प्रशासन तथा प्रहरीले आँखा चिम्लने गरेको कतिपयले आरोप लगाउने गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै राजनीतिक प्रकृतिका जुलुस वा प्रदर्शनका लागि हाल अनुमति नदिने गरिएको स्थानीय प्रशासकहरू बताउँछन्।

अनुमतिविनै प्रदर्शन

भक्तपुरमा निकालिएको जुलुसबारे त्यहाँकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसमक्ष जिज्ञासा राख्दा उहाँले अनुमतिविनै प्रदर्शन भएको बताउनुभयो ।

“त्यस्तो कार्यक्रमका लागि हामीसँग कुनै खालको अनुमति मागिएको थिएन,” उहाँले भन्नुभयो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले स्थानीय प्रशासनसँग अनुमति नलिई वीरगन्जमा प्रदर्शनको आयोजना गरिएको बताउनुभयो।

“प्रशासनलाई कुनै जानकारी नै नदिई जुलुस निकालिएको थियो, जुलुस निकालिएपछि मात्रै हामीलाई थाहा भयो,” उहाँले थप्नुभयो।

जुलुस
वीरगन्जको प्रदर्शनमा सहभागिता जनाएका आफूलाई प्रधानमन्त्री ओलीका समर्थक बताउने एक युवक अकलेश शाहले एक सय जना जतिले प्रदर्शन गरेको बताउनुभयो।

शाहका अनुसार प्रदर्शनकारीहरुले हामीले सामाजिक दूरी त खासै कायम गर्न त सकेका थिएनन तर सबैले मास्क चाहिँ लगाएका थिए ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार कोरोनाभाइरस महामारीका बेला प्रहरीले मानिसहरूलाई भिडभाड नगर्न सम्झाइबुझाइ गर्ने काम गर्दै आएको छ।

“पहिला त हामीले कोभिड १९ लाई लिएर २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन दिनेतर्फ नै कदम चालिरहेका हुन्छौँ। त्यसबाहेक अब नमानेको खण्डमा स्थानीय प्रशासन ऐन अन्तर्गत सम्बन्धित सुरक्षा निकायले कारबाही बढाउने गर्छन्,” प्रवक्ता शाहीले भन्नुभयो।

जोखिम बढ्छ

जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञहरूले भिडभाडका कारण समुदायमा कोरोनाभाइरस सङ्क्रमण फैलन सक्ने जोखिमलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन्।

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ हजार नाघिसकेको छ।

आम मानिसले सावधानी नअपनाए र राज्यले परीक्षणको दायरा अझ नबढाए सङ्क्रमितको सङ्ख्या सम्हाल्न नसक्ने अवस्था आउन सक्नेतर्फ विज्ञहरूले सचेत गराइरहेका छन्।

बुधवार मात्रै विश्व स्वास्थ्य सङ्गठनले हावाबाट पनि कोरोनाभाइरस सङ्क्रमण सर्न सक्ने प्रमाण जुट्दै गरेको जनाएको छ।

डब्ल्यूएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्ले भिड भाएको स्थान, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट सङ्क्रमण सर्दैन भन्न नसकिने बताउनुभएको छ।

जुलुस
यो पृष्ठभूमिमा जुलुसको नाममा त्यसरी भिडभाड गर्नु झन् खतरनाक हुन सक्ने भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा औँल्याउनुहुन्छ।

“एअरबर्न हो भने छिट्टा पनि पर्नु परेन, एक मिटरको दूरीभन्दा टाढासम्म पनि फैलिन सक्छ। त्यसैले यस्ता खालका गतिविधिको ठूलो प्रभाव पर्न सक्छ र भोलि गएर हामी सबैले चर्को मूल्य चुकाउनुपर्ने हुन्छ।”

त्यसरी भिडभाड हुने जुलुसमा सहभागी हुने व्यक्तिबाट परिवारका अन्य सदस्यमा सङ्क्रमणको झन् जोखिम हुने डा. शर्माले बताउनुभयो ।

राजनीतिक दल तथा तिनका कार्यकर्ताले कोरोनाभाइरस सङ्क्रमणबारे जनचेतना जगाउनुको सट्टा आफैँ भिडभाड गर्ने गतिविधिमा संलग्न हुनु झन् चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।(स्रोत :बीबीसी नेपाली सेवा)

Share Now

Leave a comment.