Prakash Adhikari July 10, 2020

काठमाडौं, २६ आषाढ । अमेरिकामा सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पको वित्तीय विवरण न्यूयोर्कका अभियोजनकर्ताहरूले परीक्षण गर्न पाउने फैसला गरिदिएको छ।

अर्को सम्बन्धित मुद्दामा भने अदालतले उक्त विवरण कङ्ग्रेसलाई दिनु जरुरी नभएको फैसला गरेको छ।

कोरोनाभाइरसका कारण न्यायाधीहरूले ‘रिमोट’ सुनुवाइ गरेका थिए ।

आफ्ना पूर्ववर्तीहरूले जस्तो कर दाखिलाका विवरण सार्वजनिक नगरेकोमा राष्ट्रपति ट्रम्प आलोचित हुँदै आउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पका वकिलले ह्वाइट हाउसमा रहुञ्जेल उहाँलाई पूर्ण उन्मुक्ति रहेको जिकिर गर्दै कङ्ग्रेससँग त्यस्तो विवरण माग गर्ने कुनै उचित कारण नभएको जनाउनुभएको थियो ।

विपक्षी डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनका दुई समिति तथा न्यूयोर्कका अभियोजनकर्ता साइरस भान्सले ट्रम्पको कैयन् वर्षदेखिका कर विवरणको माग गरिरहेका थिए।

ट्रम्प

अमेरिकी राष्ट्रपतिको स्वार्थ बाझिएको सम्बन्धी विद्यमान कानुन कत्तिको प्रभावकारी छ भनेर जाँच्न ती आवश्यक भएको उनीहरूको जिकिर थियो।

क्रुद्ध प्रतिक्रिया

रिपब्लिकन नेता ट्रम्पले भने आफूले कुनै गल्ती नगरेको भन्दै आउनुभएको छ । सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध राष्ट्रपति ट्रम्पले क्रुद्धतापूर्ण प्रतिक्रिया जनाउनुभएको छ।

आफू राजनीतिक स्वार्थप्रेरित कारबाहीबाट पीडित भएको उहाँले बताउनुभएको छ।

बीबीसी सम्वाददाता ग्यारी ओ डोनोह्युका अनुसार राष्ट्रपतिले यसमा सफाइ पाउने आशा गर्नुभएकोे थियो, जुन हुन सकेन।

तर ती दस्तावेजबाट आउने सूचना नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनभन्दा अगाडि सार्वजनिक गरिने सम्भावना पनि कमै रहेको उहाँको भनाइ छ।

यसबीच डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले आफूले गत २१ वर्षको कर दाखिलाका दस्तावेज सार्वजनिक गरेको भन्दै ट्रम्पलाई या त आफ्नो रेकर्ड सार्वजनिक गर्न या त चुप लागेर बस्न आग्रह गर्नुभएको छ।

फैसला कस्तो ?

सर्वोच्च अदालतका दुवै निर्णय दुईका विरुद्ध सात न्यायाधीशको बहुमतले गरिएका थिए।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा मनोनित गरेका दुवै अनुदारवादी न्यायाधीश निल गोर्सच तथा ब्रेट क्याभानो बहुमतका पक्षमा उभिएका थिए।

सन् २०१६ मा निर्वाचनको प्रचारप्रसार ताका राष्ट्रपति ट्रम्पले अनुदारवादी न्यायाधीशको नियुक्तीले आफ्नो राजनीतिक एजेन्डा अघि बढ्ने बताएका थिए।

Share Now

Leave a comment.