Prakash Adhikari July 11, 2020

बारेकोट(जाजरकोटं), २७ आषाढ । बारेकोट गाउँपालिका ४ सार्की गाउँमा बिहीवार राति आएको पहिरोले दुई घर बगाउँदा हराएका नौ जनाको शव प्राप्त भएको छ।
वडा ४ की अध्यक्ष सिर्जना बस्नेतले जानकारी दिनुभए अनुसार अझै तीनजना बेपत्ता छन्। बेपत्ता हुनेहरुको शनिवार बिहानैदेखि निरन्तरत खोजी जारी रहेको छ ।
वेपत्ता भएका मध्ये ५२ बर्षीय घरमूली गोपाल सार्की, उनका छोरा ११ बर्षीय अर्जुन सार्की, १४ वर्षीया छोरी तिर्खा सार्की, २० वर्षीय डिल्ली सार्की, कुशे गाउँपालिका ९ बाट दिदीको घरमा पाहुना गएका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ। त्यस्तै कल्पना सार्की, ६ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ।


बारेकोट गाउँपालिका ४ का अझै तीन र वडा ६ धुमाका त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्त बहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय खोलाले बेपत्ता बनाएको थियो। उनीहरुको अवस्था अझै खुल्न सकेको छैन।

जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीयले खोलामा आएको बाढीले बगाएर किरानामा फाँकेको अवस्थामा स्थानीयले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताउनुभएको छ।

त्यस्तै पहिरोमा परि घाइते भएका बारेकोट ४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।

विस्थापित  ५ सय परिवारको विजोग

पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिका ४ जिरीका ३२ घर , गोठगाँउका ८ घर, मैना गाउँका ५० भन्दा बढी विस्थापित भएको प्रहरीले जनाएको छ।
विस्थापितलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ, भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ।

मैनाका पहिरो प्रभावितहरु गाउँदेखि माथिको रतनकोट डाँडामा आएर बसेको बताइएको छ। वडा नम्बर १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन्। त्यस्तै वडा नम्बर ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन्।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभएको छ। सिंहका अनुसार ५ सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय र जंगलमा बसेको बताए। एक गाउँबाट अर्को गाउँमा खोला बढेका कारण जान सकिएको छैन।

सवै गाउँलेहरुले गाउँ छाडेर खुल्ला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी बुद्धिजीवी जनक बहादुर शाहीले बताउनुभएको छ। पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन्।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सर्वसाधारण बेपत्ताको खोजी र विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिरहेका छन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्‍नेतले राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको बताउनुभएको छ।

सडक सञ्‍जालसँग नजोडिएको सो पहिरो प्रभावित गाउँपालिकामा राहत पुग्‍न नसक्दा पीडितहरु भोकभोकै दिनरात बिताइरहेका बताइन्छ ।

Share Now

Leave a comment.