Prakash Adhikari July 11, 2020

बेनी(म्याग्दी), २७ आषाढ । बिहीबार राति र शुक्रबार बिहानीपख सखेको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शनिबार साँझ थप ७ जनाको शव फेला परेको छ ।

शनिवार साँझ भेटिएका मृतकहरु धौलागिरि गाउँपालिकाका हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, बिमा जुग्जाली, विपिन जुग्जाली र दिवान जुग्जाली भएको स्थानीयले बताएका छन्।

यस पहिले शुक्रबार र शनिबार २० जनाको शव भेटिएको थियो ।

गत बिहिबार राती परेको भीषण बर्षाको कारण म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा मानव बस्ती भएर ठूलाठूला पहिरो खसेका थिए ।

पहिरोमा परेर बेपत्ता रहेका ३३ जनामध्ये मालिका गाउँपालिका ७ विमका ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका ३ महिनाका नाम नखुलेका छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन्। यस्तै धौलागिरि गाउँपालिका ६ मराङको पहिरोमा परी मृत भेटिएकाहरूमा सुकना लामगाँदे, आशिष लामगाँदे, आयुष लामगाँदे,आयुषा लामगाँदे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षीय प्रकाश केसीलाई सुरक्षाकर्मीहरुको खोजी तथा उद्धार टोलीले शनिबार फेला पारेको थियो ।

यस अगाडि शुक्रबार रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय ललितमान पुराने छन्त्याललाई खोलाले बगाएको अवस्थामा मृत फेला पारिएको थियो भने तुलबहादुर क्षत्री पनि मृत अवस्थामा फेला परेका थिए।

मानव बस्ती भएर गएको पहिरोमा परेकाहरुको खोजतलास तथा उद्धार क्रममा सुरक्षा कर्र्मीहरुले २७ जना मृत अवस्थामा फेला परेका हुन।

 

Share Now

Leave a comment.