Prakash Adhikari July 12, 2020

वाशिंटन डी.सी.(संयुुक्त राज्य अमेरिका), २८ आषाढ (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाउनुभएको छ।

घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो।’

 

ट्रम्प

यसअघि उहाँलेआफूले मास्क नलगाउने बताउनुभएको  थियो र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गर्नुभएको थियो।

तर शनिवार उहाँले भन्नुभयो, ‘तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो।’

तर एप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्‍याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने संवाददाताहरूलाई बताउनुभएको थियो।

केही सञ्चारमाध्यमले राष्ट्रपतिका सल्लाहकारहरूले उहाँलाई सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार आग्रह गरेको उल्लेख गरेका थिए।

अमेरिकाको वर्तमान अवस्था

United States Map and Satellite Image
अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार भन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १ लाख ३५ हजार मानिसको मृत्यु भएको छ। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३२ लाख ४५ हजार भन्दा बढी छ।

सार्वजनिक रूपमा मास्क लगाउन निर्देशन दिने पछिल्लो राज्य लुईजीयाना बनेको छ। त्यहाँका डेमोक्र्याटिक गभर्नर जोन बेल एड्वर्ड्सले राज्यभरिका मदिरालयहरू बन्द गर्न निर्देशन दिँदै कोठाभित्र ग्राहकलाई सेवा दिन नपाउनेगरी रेस्टुराँहरूका निम्ति कडा नियम लगाएका छन्।

ती प्रतिबन्ध र नियमहरू सोमवारबाट लागु हुनेछन्।

उक्त राज्यका रिपब्लिकन सांसदहरूले उक्त कदमको विरोध गर्ने ठानिएको छ।

मृत्युदण्ड रोकियो
छिमेकी टेक्सस राज्यमा थप उच्च सङ्क्रमण देखा परेको छ। त्यहाँ शनिवार १० हजार ५ सय नयाँ सङ्क्रमित भेटिएका छन्।

साउथ क्यारोलाईनामा गभर्नरले भाइरसको विस्तार रोक्ने प्रया स्वरूप बार र रेस्टुराँहरूमा राति ११ बजेपछि मदिरा बेच्न प्रतिबन्ध लगाउने निर्देशन जारी गरेका छन्।

इन्डियानास्थित एउटा अदालतले पीडितका परिवारहरूको आग्रहमा हत्या अभियोग दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड हाललाई रोकिदिएको छ।

मृत्युदण्ड दिएको हेर्न चाहने पीडित परिवारका सदस्यहरूले कोरोनाभाइरसका कारण यात्रा गर्न जोखिम रहेको चिन्ता व्यक्त गरेपछि अदालतले ड्यान्यल लीलाई सोमवार दिन लागिएको मृत्युदण्ड अहिलेलाई रोकिदिएको हो।

Share Now

Leave a comment.