काठमाडौं, २८ आषाढ । शेयरधनीलाई उच्च प्रतिफल र ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत उत्कृष्ट सेवा दिंदै आएको नबिल बैंकले नयाँमा अभ्यस्त बन्दै आएको नेपाली युवाहरुलाई लक्षित गर्दै डिजिटल प्रविधिमार्फत सम्पूर्ण सेवा उपलब्ध गराउन बैंकभित्र डीजी बैंकको सुरुआत गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंक स्थापनाको ३६ वर्ष पुगेको अवसरमा बैंकिङ प्रणालीलाई डिजिटल बनाउने उद्देश्यले डीजी बैंकको शुभारम्भ गरिएको जानकारी दिनुभएके छ ।
बैंकले सूचना र सञ्चार प्रविधिमा संसारको अग्रणी मानिने चीनको हुवावे कम्पनीसँगको सहकार्यमा डीजी बैंकको शुरुवात गरेको हो ।
हुवावेको प्रविधिको उपयोग गर्न केही दिन पहिले बैंकले हुवावेसंग सहकार्यको संझौता पनि गरेको थियो ।

बैंकले आफ्नो बैकिंड. प्रणालीलाई डिजिटल बनाएर ग्राहकलाई सम्पूर्ण सेवा कम लागत,कम समय,बिना झन्झट,सहज र सुरक्षित तवरले उपलब्ध गराउन संस्थागत ढंगले ‘डिजी बैंकको सुरुआत गरेको हो । बैकले यसलाई संगठित र आक्रामक ढंगले लैजान बिनय रेग्मीको नेतृत्वमा ७२ जना कर्मचारीलाई यो मिसनको जिम्मा दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यसले बैंकको आन्तरिक क्षमता अभिवृद्धिलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्दै आगामी ६ वर्षमा डिजिटल बैंकिङका माध्यमबाट बैंक अझ ठूलो हुने बताउनुभयो ।
पहिलो संयुक्त लगानीको बैंकको इतिहास रचेको नबिलले पहिलो कम्प्युटराइज बैंकको स्थान पनि सुरक्षित गरेको छ । विश्वमा बैंकिड. क्षेत्रमा उपलब्ध प्रविधि र प्रडक्टहरु नेपालमा ल्याएर नेपाली ग्राहकलाई सन्तुष्टि दिंदै आएको नबिलले लडडाउनका कारण ग्राहकसेवमा पर्न गएको असुविधालाई ध्यानमा राखेर बैंकका सेवाहरु डिजिटलमाध्यमबाट प्रदान गर्नका लागि यो प्रयासको थालनी गरेको हो ।
नबिलले लकडाउनको समयमा ई एट नबिल र जेन एन अकाउन्ट जस्ता नयाँ प्रडक्ट ल्याएर ग्राहकलाई सहज रुपमा भरपर्दो र सुरक्षित सेवा प्रदान गरेको थियो ।
‘नबिल बैंकले १२ वर्ष अगाडि नै अनलाइन अकाउन्ट शुरु गरेको थियो । तर अन्य अवस्था सामान्य रहेकोले त्यो सामान्य गतिमा कार्यान्वयनमा आयो ।
अभियानको रुपमा जान सकेको थिएन । लकडाउनले परम्परागत ढंगले ग्राहकको आवश्यकता पूरा गर्न कठिनाई हुने महसुस भएपछि बैंकिड. पद्धतिमा क्रान्ति नै ल्याउने उद्देश्यले नबिलले डिजिटाइजेशनको प्रकृया अगाडि बढाएको हो ।
बैंकले अत्यावश्यक सामूहिक बैठकको लागि पनि डिजिटल प्रविधिको भिडिया मिटिड.लाई अबलम्बन गर्दै आएको छ ।

डीजी बैंकको शुभारम्भ कार्यक्रममा बोल्दै हुवावे नेपालका प्रमुख डेनी देङले हुवावे मोबाइल कम्पनी मात्रै होइन हामी विश्वमै अग्रणी आईसीटी कम्पनी समेत भएको बताउनुभयो ।
उहाँले नबिल बैंकको डीजी बैंकका लागि काम गर्न पाउँदा निकै खुसी लागेको र यो नेपाल बैंकिङ प्रणालीका लागि राम्रो सुरुआत भएको बताउनुभयो । उहाँले साधारण हार्डवेयर खरिद बिक्री नभएर समग्र प्रणाली भएकाले यसले डिजिटल बैंकिङको बाटोमा नयाँ आयाम थपिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नबिल डीजी बैंकका प्रमुख विनय रेग्मीले डिजी बैंकको उद्देश्य बैंकलाई पूर्णरुपमा डिजिटल बैंकिङमा लैजाने भएको बताउनुभयो ।
उहाँले डिजिटल बैकिड.ले हाल ६५ प्रतिशत जनसंख्याको पहुँचमा रहको बैंकिड. प्रणालीलाई शतप्रतिशतमा पुर्याउन पनि मद्दत गर्ने बताउनुभयो ।
उहाँले वर्तमान पुस्तालाई सबै सेवा रियल टाइममा चाहिने भएकाले बैंकिङ क्षेत्रबाट यस्तो सेवा किन नदिने भनेर बैंकिङ प्रणालीलाई डिजिटाइजेसन गरिएको बताउनुभयो।
उहाँले डिजिटाइजेशनबाट बैंकको लागत खर्च पनि कम हुने र ग्राहकलाई बढी सुविधा पुग्ने बताउनुभयो ।
उहाँले चीनमा विच्याटबाट जसरी सबै काम गर्न सकिन्छ सोही अनुसारले हामीले पनि काम गर्न सकिने विश्वास पनि गर्नुभयो ।
उहाँले डिजिटल सेवा बैंकले मात्र प्रचलनमा ल्याएर नपुग्ने ग्राहक पनि यो प्रविधिमा अभ्यस्त हुनु पर्ने भएकोले डिजिटल लिटरेसीलाई पनि बैंकले साथै लैजाने बताउनुभयो ।
यसका लागि डिजिटल कारोबार गने ग्राहकलाई इन्सेन्टिभ दिने योजना पनि बैंकले बनाएको छ।
नयाँ प्रविधिको प्रयोग र आइपर्ने समस्याको समाधानका लागि समेत डिजी बैंकले काम गर्ने बताइएको छ । बैंकले अडियो, भिडियो र रोबटिक्स टेक्नोलोजीको पनि प्रयोग गरेर डिजिटाइजेशन सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास लिएको छ ।


















